परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा आज प्रस्थान गर्दै, यस्तो छ कार्यतालिका – Sagarmathapana:: Online News Portal

परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा आज प्रस्थान गर्दै, यस्तो छ कार्यतालिका

   २०८३ जेष्ठ ३१ गते  

काठमाडौँ।परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक भ्रमणका लागि आज चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हुन लागेको भ्रमणलाई नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय हित, पारस्परिक सहयोग तथा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा विस्तृत वार्ता गर्नेछन्। साथै उनले चीन सरकारका विभिन्न उच्चपदस्थ अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी प्रवर्द्धन कार्यक्रममा पनि मन्त्री खनाल सहभागी हुनेछन्। नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने उद्देश्यले आयोजना गरिने उक्त कार्यक्रममा चिनियाँ उद्यमी तथा व्यवसायीहरूसँग प्रत्यक्ष संवाद र छलफल गर्ने कार्यसूची तय गरिएको छ।

परराष्ट्रमन्त्रीको सम्मानमा नेपाली दूतावासले विशेष स्वागत समारोहको आयोजना गर्नेछ। उक्त अवसरमा उनले चीनमा रहेका नेपाली समुदायका प्रतिनिधिसँग अन्तरक्रिया गर्दै उनीहरूको सुझाव र अनुभवसमेत सुन्ने कार्यक्रम रहेको जनाइएको छ।

नेपाल–चीन सम्बन्ध, आर्थिक सहकार्य, लगानी प्रवर्द्धन तथा जनस्तरीय सम्बन्ध विस्तारलाई केन्द्रमा राखेर हुने यो भ्रमण आगामी असार ३ गते सम्पन्न हुनेछ। भ्रमण पूरा गरी मन्त्री खनाल सोही दिन स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै