नेपालमै पहिलो पटक एलएसडी स्टिकर बरामद, भारतीय नागरिक पक्राउ – Sagarmathapana:: Online News Portal

नेपालमै पहिलो पटक एलएसडी स्टिकर बरामद, भारतीय नागरिक पक्राउ

   २०८३ जेष्ठ ३० गते  

काठमाडौं – कास्की प्रहरीले नेपालमै पहिलो पटक ठूलो परिमाणमा ‘एलएसडी (LSD)’ स्टिकर प्रकृतिको लागुऔषध बरामद गरेको छ। विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा एक भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखराबाट पक्राउ परेका व्यक्तिको साथबाट जिब्रोमा राखेर सेवन गरिने एलएसडी स्टिकर, कोकिन तथा अन्य प्रतिबन्धित लागुऔषध बरामद गरिएको छ। नेपालमा यस प्रकारको एलएसडी स्टिकर यति ठूलो मात्रामा फेला परेको यो पहिलो घटना भएको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका व्यक्तिले भारतबाट अवैध रूपमा लागुऔषध नेपाल भित्र्याई पोखरा र काठमाडौंका युवा तथा विदेशी पर्यटकलाई लक्षित गरी बिक्री–वितरण गर्ने योजना बनाएको खुलेको छ।

कास्की प्रहरीले पक्राउ परेका व्यक्तिविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। साथै, यस कारोबारसँग सम्बन्धित अन्य व्यक्ति तथा सञ्जालको खोजी कार्य पनि तीव्र पारिएको प्रहरीले बताएको छ।

लागुऔषधको नयाँ स्वरूप नेपालमा देखिन थालेपछि सुरक्षा निकायले सीमा नाकासहित प्रमुख सहरहरूमा निगरानी थप कडा बनाएको जनाएको छ। प्रहरीले युवापुस्तालाई यस्ता घातक लागुऔषधबाट टाढा रहन तथा शंकास्पद गतिविधिबारे तत्काल जानकारी गराउन आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै