कास्कीमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनबारे सरोकारवालासँग अन्तरक्रिया
पोखरा।सरकारले २०८५ वैशाख १ गतेदेखि देशभर लागू गर्न लागेको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन कास्कीमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीद्वारा आयोजित कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, शिक्षा क्षेत्रका विज्ञ, सञ्चारकर्मी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा नेपालको संविधान, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ तथा राष्ट्रिय शिक्षा नीतिअनुसार शिक्षाको अधिकार र कार्यान्वयन रणनीतिबारे जानकारी गराइएको थियो।
छलफलका क्रममा आधारभूत तहसम्म सबै बालबालिकाको पहुँच सुनिश्चित गर्ने, विद्यालयबाहिर रहेका बालबालिकाको पहिचान गर्ने, विद्यालय नक्साङ्कन, वैकल्पिक शिक्षाको व्यवस्था तथा समावेशी र गुणस्तरीय शिक्षा प्रवर्द्धनका विषयमा विशेष जोड दिइएको थियो।
कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका अतिरिक्त सचिव दामोदर सुवेदीले शिक्षा सम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी दिँदै कार्यक्रम सफल बनाउन सबै पक्षको साझा जिम्मेवारी आवश्यक रहेको बताए। उनले कार्यान्वयनका क्रममा आउने चुनौती समाधानका लागि सरोकारवाला निकायबीच समन्वय र सक्रियता आवश्यक रहेको उल्लेख गरे।
शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्यले स्थानीय आवश्यकता अनुसार कार्ययोजना निर्माण गरी कार्यान्वयनमा जुट्न पोखरा महानगरपालिका तथा जिल्लाका चारवटै गाउँपालिकालाई आग्रह गरे। कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुने भन्दै उनले तथ्याङ्क अद्यावधिक, शिक्षा योजना निर्माण, पूर्वाधार विकास, शिक्षक व्यवस्थापन तथा विद्यार्थी सहायता प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने बताए।
अन्तरक्रियामा सहभागीहरूले अनिवार्य तथा निःशुल्क शिक्षा लागूसँगै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले पर्याप्त बजेट व्यवस्था, छात्रवृत्ति, दिवा खाजा, समावेशी शिक्षा तथा अपाङ्गता भएका र सीमान्तकृत बालबालिकाका लागि लक्षित कार्यक्रम थप प्रभावकारी बनाउन सुझाव दिएका थिए।
कार्यक्रममा उठेका सुझावलाई आगामी कार्ययोजनामा समेट्दै कास्कीमा अनिवार्य तथा निःशुल्क शिक्षा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको आयोजकले जनाएको छ।












