५ हजार ५१४ कर्मचारी कारबाहीमा, कार्यालय समय पालना नगर्ने सबैभन्दा बढी
काठमाडौं।प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सरकारी कार्यालयहरूमा सञ्चालन गरेको छड्के अनुगमन अभियानअन्तर्गत चैत १३ गतेदेखि हालसम्म ५ हजार ५१४ कर्मचारी कारबाहीमा परेका छन्। अनुगमनका क्रममा ५०९ सरकारी कार्यालयको निरीक्षण गरिएको थियो।
कारबाहीमा परेका कर्मचारीमध्ये सबैभन्दा धेरै ५ हजार ९७ जना कार्यालय समयको पालना नगर्ने, ढिलो उपस्थित हुने तथा ड्युटीप्रति लापरबाही गर्ने कर्मचारी रहेका छन्। सरकारले सार्वजनिक सेवामा अनुशासन, जवाफदेहिता र सेवा प्रवाहलाई प्रभावकारी बनाउन नियमित अनुगमनलाई तीव्रता दिएको जनाएको छ।
सरकारले कर्मचारीतन्त्रमा सुधार, सेवा प्रवाहमा पारदर्शिता तथा कार्यसम्पादनमा उत्तरदायित्व बढाउने उद्देश्यले विभिन्न प्रशासनिक सुधार कार्यक्रम अघि बढाइरहेको छ। पछिल्ला महिनाहरूमा सरकारी कार्यालयहरूमा अनुशासन कायम गर्न छड्के अनुगमन, हाजिरी परीक्षण तथा कार्यसम्पादन मूल्याङ्कनलाई कडाइका साथ लागू गरिएको छ।
सरकारले आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिँदै सेवा प्रवाहमा ढिलासुस्ती, गैरजिम्मेवारी र अनुशासनहीनता देखाउने कर्मचारीमाथि आवश्यक कारबाही गरिने स्पष्ट पारेको छ।












