पोखराबाट दुबई सिधा उडान सुरु हुँदै, फ्लाई दुबईलाई दैनिक सेवा सञ्चालनको अनुमति
पोखरा गण्डकी।पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन हुने दिशामा महत्वपूर्ण उपलब्धि हासिल भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले दुबईस्थित वायुसेवा कम्पनी flydubai लाई आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई–पोखरा दैनिक सिधा उडान सञ्चालनका लागि अनुमति दिएको छ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाई दुबईको उडान तालिका स्वीकृत भइसकेको छ र निर्धारित मितिदेखि नियमित सेवा सुरु हुनेछ। उडानअघि कम्पनीको प्राविधिक टोलीले विमानस्थलको सुरक्षा, सेफ्टी तथा सञ्चालन व्यवस्थाको निरीक्षणसमेत गरेको थियो।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य ले फ्लाई दुबईको प्रवेशसँगै पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई नेपालको तेस्रो अन्तरराष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा स्थापित गर्ने प्रयासले गति लिएको बताए। उनका अनुसार दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क कायम भएपछि मध्यपूर्व, युरोप, अफ्रिका लगायत ३०० भन्दा बढी सहरसँग पोखराको पहुँच विस्तार हुनेछ।
सन् २०२३ जनवरी १ मा उद्घाटन गरिएको Pokhara International Airport हालसम्म मुख्यतः आन्तरिक उडानमा सीमित रहँदै आएको छ। झण्डै २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन नहुँदा यसको पूर्ण क्षमताको उपयोग हुन सकेको थिएन।
यसअघि Himalaya Airlines ले सन् २०२५ मा पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरु गरे पनि सेवा लामो समय टिक्न सकेन। तर फ्लाई दुबईको नियमित दैनिक उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालसँग जोड्दै पर्यटन, व्यापार र लगानी प्रवर्द्धनमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
पर्यटन व्यवसायीहरूले पनि यो निर्णयलाई स्वागत गर्दै पोखराबाट थप अन्तरराष्ट्रिय गन्तव्यमा उडान विस्तार गर्न नीतिगत सहजीकरण आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार अन्तरराष्ट्रिय विमानस्थल निर्माणपछि पोखराको पर्यटन क्षेत्रमा करिब एक खर्ब रुपैयाँ बराबरको अतिरिक्त लगानी भित्रिएको छ।
फ्लाई दुबईको नियमित सेवा सुरु भएसँगै पोखरा अन्तरराष्ट्रिय विमानस्थलको व्यावसायिक उपयोगिता बढ्नुका साथै काठमाडौँ केन्द्रित हवाई चाप कम गर्न समेत सहयोग पुग्ने विश्वास गरिएको छ।












