स्वास्थ्य मन्त्री निशा मेहता र अमेरिकी कार्यवाहक राजदूत अर्बोबीच भेटघाट, स्वास्थ्य क्षेत्रमा सहयोग र सहकार्यबारे छलफल
काठमाडौं।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत अर्बोबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा नेपाल र अमेरिकाबीच स्वास्थ्य क्षेत्रको सहकार्य, स्वास्थ्य सेवा सुदृढीकरण, जनस्वास्थ्य कार्यक्रम तथा प्राविधिक सहयोग विस्तारका विषयमा छलफल भएको बताइएको छ।
मन्त्रालयमा भएको भेटमा मन्त्री मेहताले नेपालको स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी, पहुँचयोग्य र गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध रहेको बताइन्। उनले स्वास्थ्य पूर्वाधार विकास, स्वास्थ्यकर्मी क्षमता अभिवृद्धि तथा स्वास्थ्य सेवामा नवप्रवर्तनलाई प्राथमिकतामा राखिएको उल्लेख गरिन्।

कार्यवाहक राजदूत अर्बोले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा अमेरिकाले गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा साझेदारीका नयाँ सम्भावनाबारे समेत सकारात्मक छलफल भएको जनाइएको छ। स्वास्थ्य सेवा विस्तार, रोग नियन्त्रण तथा स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहकार्य बढाउने विषयमा दुवै पक्ष सहमत भएका छन्।
भेटवार्तालाई नेपाल–अमेरिका स्वास्थ्य सहकार्यलाई थप मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।












