राष्ट्रिय सहमतिका लागि गोलमेच सम्मेलन गर्न नेपाल मातृभूमि पार्टीको आह्वान – Sagarmathapana:: Online News Portal

राष्ट्रिय सहमतिका लागि गोलमेच सम्मेलन गर्न नेपाल मातृभूमि पार्टीको आह्वान

   २०८२ फाल्गुन १० गते  

संविधान संशोधन र राष्ट्रिय सहमतिका लागि गोलमेच सम्मेलनको प्रस्ताव

काठमाडौं।नेपाल मातृभूमि पार्टी ले वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राख्दै संविधान संशोधन र राष्ट्रिय सहमतिको पहल आवश्यक रहेको बताएको छ।

पार्टीका अनुसार गत मंसिर १७ गते शुशिला कार्की लाई बुझाइएको ध्यानाकर्षण पत्रमार्फत जेनेरेशन–जेड (Gen-Z) राजनीतिक दल, परम्परागत रूपमा क्रियाशील राजसंस्था समर्थक समूहहरू तथा विभिन्न राजनीतिक शक्तिबीच गोलमेच सम्मेलन आयोजना गर्न प्रस्ताव गरिएको थियो। उक्त सम्मेलनमार्फत नेपालको संविधान २०७२ माथि विस्तृत छलफल गरी आवश्यक संशोधनका लागि साझा एजेन्डा तय गर्नुपर्ने धारणा पार्टीले राखेको जनाएको छ।

पार्टीले लोकतन्त्रको आधार निर्वाचन भएको उल्लेख गर्दै निर्वाचनमार्फत गठन हुने संसद्ले विषयगत रूपमा संविधान संशोधन गरी यसलाई सम्पूर्ण नेपाली जनताको साझा दस्तावेजका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएको छ।

यसै सन्दर्भमा प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाह बाट जारी सन्देशमा राष्ट्रिय सहमति कायम गरी निर्वाचनमा जानुपर्ने उल्लेख गरिएको विषय अहिलेको संवेदनशील परिस्थितिमा अझ सान्दर्भिक देखिएको पार्टीको भनाइ छ।

पार्टीले सबै राजनीतिक दल, युवा शक्ति, नागरिक समाज तथा सरोकारवाला पक्षहरूलाई देशको हितका लागि राष्ट्रिय सहमतिका आधारमा अघि बढ्न र साझा पहल गर्न आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै