चलचित्र ‘बिगुल’को प्रदर्शन अनिश्चितकालका लागि स्थगित
काठमाडौँ- निर्वाचन र विश्वकप क्रिकेटको माहोलका कारण हलमा दर्शकको उपस्थिति घट्दै गएपछि नेपाली चलचित्र ‘बिगुल’को प्रदर्शन अनिश्चितकालका लागि स्थगित गरिएको छ। निर्माता कम्पनी म्याग्नोलिया ग्रुप प्रालिले बुधबारदेखि लागू हुने गरी अर्को सूचना नआउँदासम्म प्रदर्शन रोकिने जनाएको हो।
कम्पनीका अनुसार हाल जारी विश्वकप क्रिकेट र निकट भविष्यमा हुने संसदीय निर्वाचनको प्रभाव चलचित्र क्षेत्रमा प्रत्यक्ष देखिएको छ। दर्शक संख्या उल्लेख्य रूपमा घटेपछि परिस्थितिको मूल्यांकन तथा सम्बन्धित निकायको सुझावलाई ध्यानमा राख्दै यो निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
निर्माता दिनेश कोइरालाले फिल्मको नयाँ प्रदर्शन मिति चाँडै सार्वजनिक गरिने जानकारी दिएका छन्। प्रदर्शन स्थगनबाट दर्शक, वितरक तथा सम्बन्धित सबैमा पर्न गएको असुविधाप्रति निर्माण टिमले क्षमायाचना गर्दै हालसम्म साथ दिने दर्शक, कलाकार, प्राविधिक, सञ्चारकर्मी तथा अतिथिहरूप्रति आभार व्यक्त गरेको छ।
रमेश कोइरालाको निर्देशनमा बनेको चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी र बिनोद न्यौपानेलगायतका कलाकारको मुख्य भूमिका रहेको छ। प्रदर्शन अवधिमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ।
नयाँ प्रदर्शन मिति सार्वजनिक भएसँगै फिल्म पुनः हलमा आउने अपेक्षा गरिएको छ।












