ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६’ सिजन–८ को फारम खुला, विजेतालाई ५० हजारसहित आकर्षक अवसर
काठमाडौँ-रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा.लि.को आयोजनामा विगत आठ वर्षदेखि सञ्चालन हुँदै आएको सौन्दर्य प्रतियोगिता ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’ को आठौँ संस्करणका लागि फारम खुला गरिएको छ।
‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६’ सिजन–८ को ग्रान्ड फिनाले आगामी चैतको अन्तिम साता काठमाडौँमा आयोजना हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक ब्युटिसियन तथा ब्युटिसियन क्षेत्रमा प्रवेश गर्न चाहनेहरूका लागि आवेदन खुला गरिएको हो।


यस वर्षको उपाधि विजेताले नगद ५० हजार रुपैयाँसहित उपाधि, क्राउन तथा विभिन्न आकर्षक उपहार प्राप्त गर्नेछन्। साथै फस्ट रनरअप र सेकेन्ड रनरअपलाई समेत विशेष पुरस्कार प्रदान गरिने आयोजक एवम् वरिष्ठ ब्युटिसियन सोनी कारंजितले जानकारी दिइन्। उनका अनुसार विजेताहरूले म्युजिक भिडियो, टेलिफिल्म तथा सर्ट फिल्ममा मेकअप गर्ने अवसरका साथै मोडलिङको अवसरसमेत पाउनेछन्।
सोनी कारंजितले भनिन्, “ब्युटिसियनहरूको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिसँगै उनीहरूलाई राष्ट्रिय मञ्चमा स्थापित गर्ने उद्देश्यले हामीले विगत नौ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएका छौँ। कोरोना महामारीका कारण एक वर्ष स्थगित भए पनि अन्य वर्ष नियमित रूपमा कार्यक्रम सञ्चालन गरिएको छ।

प्रतियोगिताको फारम विलक्षण क्रियसन प्रा.लि.को कार्यालय पुतलीसडक, रोज ब्युटी एकेडेमीको कार्यालय रवीभवन तथा विभिन्न ब्युटी पार्लरहरूमा उपलब्ध रहेको अर्का आयोजक डब्बु क्षत्रीले जानकारी दिए। उनका अनुसार पहिलो अडिसन १५ फागुनमा र दोस्रो अडिसन २९ फागुनमा हुने तय गरिएको छ। १ चैतदेखि प्रतियोगीहरूका लागि विशेष प्रशिक्षण सुरु गरिनेछ।
क्षत्रीका अनुसार प्रतियोगिता ब्युटी पार्लरभित्र सीमित रहने ब्युटिसियनहरूलाई फरक पहिचान र प्रस्तुति दिने उत्कृष्ट प्लेटफर्म हो। “यस प्रतियोगिताले ब्युटिसियनहरूलाई कस्टमर केयरिङदेखि पर्सनालिटी डेभलपमेन्टसम्म धेरै फाइदा पुर्याउनेछ र उनीहरूलाई सेलिब्रेटीको रूपमा स्थापित गर्न सहयोग गर्नेछ,” उनले बताए।
प्रतियोगितामा सहभागी हुनेहरूलाई गाउन र टिसर्ट उपलब्ध गराइनेछ भने दुई साताको विशेष प्रशिक्षणसमेत दिइनेछ। प्रशिक्षणमा क्यारेक्टर मेकअप, पर्मानेन्ट ल्यासेस, ब्राइडल मेकअप, विभिन्न हेयर स्टाइल तथा जुरो, हेयर केयर, स्किन केयर, वाटर मार्बल नेलआर्ट, विशेष नृत्य, वक्तृत्वकला तथा व्यक्तित्व विकास जस्ता विषय समावेश गरिने आयोजकले जनाएको छ।
यसका साथै दुई साताको क्याटवाक तथा ग्रुमिङ प्रशिक्षण, विशेष फोटो सेसन र भिडियो सेसनको व्यवस्था पनि गरिएको छ। आयोजकका अनुसार यस प्रतियोगिताले ब्युटिसियन क्षेत्रमा नयाँ प्रतिभा उत्पादन गर्नुका साथै उनीहरूको पेशागत क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।












