१५औँ खुम्बु ल्होसार कप–२०२६ को उपाधि फराकलाई,४–१ गोलअन्तरले नाम्चे पराजित
काठमाडौं।शेर्पा समुदायको महान् सांस्कृतिक पर्व ल्होसारको अवसरमा आयोजित १५औँ खुम्बु ल्होसार कप–२०२६ फुटबल प्रतियोगिताको उपाधि महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकले जितेको छ।
ललितपुरको एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न फाइनल खेलमा फराकले नाम्चे युथ क्लबमाथि ४–१ को प्रभावशाली जित निकाल्दै ऐतिहासिक सफलता हात पारेको हो। सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको फराकले निर्णायक खेलमा उत्कृष्ट समन्वय र गोलकिपिङ प्रदर्शन गर्दै स्पष्ट जित सुनिश्चित गरेको थियो।


उपाधि दौडमा पराजित नाम्चे युथ क्लब उपविजेतामा सीमित रहँदा खुम्जुङ युथ क्लब तेस्रो स्थानमा रह्यो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न विधाका खेलाडीहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
समापन समारोहका प्रमुख अतिथि सोनाम ग्याल्जेन शेर्पाले विजेता टोलीलाई ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद रु १ लाख ५० हजार प्रदान गरे। उपविजेता नाम्चे युथ क्लबले नगद रु ८० हजार तथा तेस्रो स्थान हासिल गरेको खुम्जुङ युथ क्लबले नगद रु ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
सोही अवसरमा राष्ट्रिय खेलाडी प्रीति राईलाई खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै प्रमाणपत्रसहित नगद रु ५० हजार प्रदान गरी विशेष सम्मान गरिएको थियो।
माघ २४ गतेदेखि सुरु भई फागुन ३ गते सम्पन्न प्रतियोगितामा ८ टोली सहभागी भएका थिए।आठ दिनसम्म चलेको प्रतियोगितामा कुल १६ खेल सम्पन्न भएका थिए।



प्रतियोगितामा महेन्द्र ज्योति एक्स–स्टुडेन्ट फोरम, फराक; नाम्चे युथ क्लब; खुम्जुङ युथ क्लब; खुण्डे कम्युनिटी क्लब; ठमिछोवा फुटबल क्लब, ठामे; अमा डब्लम युथ ग्रुप, पाङ्बोचे; खुम्बु याम्बु शेर्पा समाज र खुम्बु युनाइटेडले प्रतिस्पर्धा गरेका थिए।
विगत १८ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको खुम्बु ल्होसार कप शेर्पा समुदायबीच खेलकुदमार्फत एकता, उत्साह र प्रतिभा प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको छ।सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा जन्मिएर हाल काठमाडौं उपत्यकामा बसोबास गरिरहेका युवाहरूबीच यो प्रतियोगिता विशेष आकर्षणको रूपमा रहँदै आएको छ।
यस वर्षको १५औँ संस्करणको आयोजना महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकले गरेको हो। प्रतियोगिताको मुख्य प्रायोजक १४ पिक्स एक्सपेडिसन प्रा.लि. रहेको थियो भने सह–प्रायोजक हेली एभरेष्ट प्रा.लि. तथा खुम्बु पासाङ ल्हामु गाउँपालिका रहेका थिए।
समापन समारोहमा प्रतियोगितालाई सहयोग पुर्याउने दाता,प्रायोजक तथा शुभेच्छुकहरूलाई मायाको चिनो प्रदान गर्दै आयोजकले आभार व्यक्त गरेको थियो।
प्रविन किराती,
SAGARMATHAHPANA.COM













