प्रतिनिधिसभा निर्वाचनका लागि प्रचार भोलिदेखि, आचारसंहिता उल्लंघनमा कडा कारबाही हुने आयोगको चेतावनी
काठमाडौं।निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ। आयोगले मतदाता र उम्मेदवार दुवैलाई निर्भय रूपमा निर्वाचन प्रक्रियामा सहभागी हुने वातावरण सुनिश्चित गर्न सरोकारवाला निकायलाई सचेत गराएको हो।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लंघनका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गरिएको जानकारी दिँदै उल्लंघन गरे उम्मेदवारी खारेजीसम्मको कारबाही हुन सक्ने स्पष्ट पार्नुभयो।
निर्वाचनलाई प्रभावित पार्ने गतिविधि, विशेषगरी सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रमपूर्ण तथा निर्वाचन विरोधी सामग्रीमाथि कडाइका साथ निगरानी र नियमन गरिने आयोगले जनाएको छ।
यसैबीच, आयोगका अनुसार आगामी निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले भोलिदेखि सभा, जुलुस तथा औपचारिक प्रचारप्रसार कार्यक्रम सञ्चालन गर्न पाउनेछन्। १८ गतेसम्म प्रचारप्रसार गर्न पाइनेछ भने त्यसपछि दुई दिनको मौन अवधि लागू गरिने आयोगले जनाएको छ।
आयोगले निर्वाचन प्रक्रियालाई मर्यादित, पारदर्शी र विश्वसनीय बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख गरेको छ।












