काठमाडौं । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समन्वय, सहजीकरण, सुरक्षालगायत सहयोग गर्न सहायता कक्ष स्थापना गरिएको छ।
त्रिधार्मिकस्थल हलेसीमा पर्यटकलाई आवश्यक जानकारी दिने उद्देश्यले पर्यटक प्रहरी सहायता कक्ष (डेस्क) स्थापना गरिएको हो ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको व्यवस्थापनमा प्रदेश प्रहरीबाट तालिम लिएर दक्ष जनशक्तिसहित पर्यटक प्रहरी सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए।
पर्यटकबाट आएका उजुरी, निवेदनमाथि छानबिन तथा कारबाही गर्ने, अनुमति बिना पथप्रदर्शन गर्नेलाई कारबाहीलगायत काम उक्त सहायता कक्षमार्फत गरिने उहाँले जानकारी दिए। उनका अनुसार डेस्कमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा तीनजना प्रहरी खटाइएको छ।डेस्कमा खटिएका प्रहरीले पर्यटकीयस्थलमा गस्ती तथा पेट्रोलिङ गर्ने, पर्यटकका लागि आवश्यक सूचना आदानप्रदान गर्ने, पर्यटकको सुरक्षा गर्ने, समस्यामा परेमा सहयोग र समन्वय गर्ने खड्काको भनाइ छ।

“पर्यटकका बारेमा फौजदारी अपराधसम्बन्धी कुनै जानकारी आएमा सोबारे सम्बन्धित दूतावाससँग सम्पर्क गरेर स्थानीय प्रहरीमार्फत आवश्यक कारबाही गर्ने, होटल तथा ट्राभल, टेकिङ, र्याफ्टिङ एजेन्सीको निरीक्षण, समझदारी, अध्ययन गरी प्रतिवेदन तयार गर्ने, पर्यटकीय क्षेत्रमा कुनै अभद्र व्यवहार, अश्लिल तथा अवाञ्छित क्रियाकलाप गर्नेलाई नियन्त्रणमा लिई कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने काम गरिनेछ”, प्रहरी नायब उपरीक्षक खड्काले भने।

दैनिक सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने हलेसीमा पर्यटक सहायता प्रहरी डेस्क स्थापना गरिएसँगै शान्ति, सुरक्षा थप प्रभावकारी र व्यवस्थित भएको हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले जानकारी दिए।
धार्मिक पर्यटकीयस्थल हलेसीमा हरेक वर्षको साउनमा महिनाभर बोलबम मेला लाग्ने गरेको छ।दैनिक हजारौँको सङ्ख्यामा भक्तजन, दर्शनार्थी तथा पर्यटकको सहभागी हुने मेलालाई व्यवस्थित गर्नसमेत डेस्कले सहयोग गर्ने प्रनाउ खड्काको भनाइ छ।बोलबममा विशेषगरी भारतीय नागरिक यहाँ आउने गरेका समितिले जनाएको छ।
 मेलालाई व्यवस्थित गर्न नगरपालिकाको तर्फबाट स्वयम्सेवक परिचालन गरिने हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष कमल गिरीले जानकारी दिए। त्रिधार्मिकस्थल हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तिज, बोलबमलगायत पर्वमा ठूलो मेला लाग्ने गरेको छ।
 मेला भर्नका लागि नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत विभिन्न राष्ट्रबाट दर्शनार्थी यहाँ आउने गरेका छन्। राजधानी काठमाडौँसँगै तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको सडकखण्ड कालोपत्र गरिएकाले हलेसी आउने दर्शनार्थीको सङ्ख्या वृद्धि हुँदै गएको स्थानीयले बताएका छन्।
चट्टानैचट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्धार, पापद्धार, स्वर्गद्धारलगायत विभिन्न द्धारहरू अवस्थित छन्। प्राकृतिक भू–बनोटको हिसाबले पनि नमूना मानिने खोटाङको हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठीक पछाडिपट्टी पर्दछ।
घनाजङ्गलको बीचमा अवस्थित बसाहा गुफाको करिब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार रहेको पर्यटक बताउँछन्।
यहाँ लाग्ने मेलामा अप्रिय घटना हुन नदिन तथा मेलालाई व्यवस्थित गर्न सदरमुकाम दिक्तेलबाट सुरक्षाकर्मीको टोलीसमेत परिचालन हुँदै आएको छ। धार्मिक रुपमा मात्र नभई प्राकृतिक रुपले पनि विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको दर्शन तथा पूजाआजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ।