टोखा–३ का पीडित आदिवासी परिवारलाई भोटखोला युवा सरोकार मन्चको आर्थिक सहयोग
काठमाडौं।टोखा नगरपालिका–३ मा आदिवासी समुदायले उत्पादन गर्दै आएको मदिरा पेय पदार्थमाथि गत माघ १८ गते प्रहरीद्वारा गरिएको छापा तथा बरामतपछि प्रभावित बनेका परिवारलाई भोटखोला युवा सरोकार मन्चले आर्थिक सहयोग प्रदान गरेको छ।
मन्चका उपाध्यक्ष लाक्पा तेन्जिन शेर्पा,महासचिव सुन्दर भोटे र सचिव लादेन छिरीङ भोटे पीडित परिवारको घरमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन्। घटनाबाट प्रभावित तीन घरमध्ये साङमुको घरबाट बढी सामग्री बरामद भएकाले उनलाई मन्चको तर्फबाट थप सहयोग गरिएको जनाइएको छ।



मन्चले साङमुका परिवारलाई नगद रु. १६,००० सहयोग प्रदान गरेको छ। उक्त रकम पीडितकी श्रीमान् सोनाम ङोम्बाको हातमा उपाध्यक्ष शेर्पा तथा मन्चको टोलीले हस्तान्तरण गरेको हो।
भोटखोला युवा सरोकार मन्चले कठिन परिस्थितिमा परेका समुदायका सदस्यलाई सहयोग र साथ दिन निरन्तर सक्रिय रहने जनाएको छ। साथै, प्रभावित परिवारको जीवनयापन सहज बनाउन स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरी थप सहयोग जुटाउने प्रयास जारी रहने मन्चले जानकारी दिएको छ।














