झापा–५ मा बालेन साहको उम्मेदवारी दर्ता,ओली पनि आजै मैदानमा
झापा।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।उनले आज बिहान निर्वाचन कार्यालय पुगेर औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै साहले वैकल्पिक राजनीति, सुशासन र जनमुखी विकासका लागि आफू चुनावी मैदानमा उत्रिएको बताए । उनले जनताको व्यापक समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्दै झापा–५ लाई परिवर्तनको नमुना क्षेत्र बनाउने दाबी गरे ।
यसैबीच, यही निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि उम्मेदवारी दर्ता गराउने कार्यक्रम तय भएको छ । ओलीले आज दिउँसो १ बजे निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
झापा–५ मा प्रमुख राष्ट्रिय दलका प्रभावशाली नेताहरू आमनेसामने भएपछि यस क्षेत्रको चुनावी प्रतिस्पर्धा थप रोचक र चासोपूर्ण बन्ने देखिएको छ । स्थानीय मतदाता तथा राजनीतिक वृत्तमा समेत यो निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ ।












