काठमाडौं–३ बाट कुलमानको उम्मेदवारी घोषणा,भारी मतले जित्ने दाबी
काठमाडौं।पूर्व नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा संघीय सरकारका पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं ‘उज्यालो नेपाल पार्टी’का प्रमुख कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा घिसिङले जनताको व्यापक समर्थनका साथ आफू भारी मतले चुनाव जित्ने दाबी गरे ।

घिसिङले देशमा सुशासन, पारदर्शिता र दिगो विकासका लागि सक्रिय राजनीति आवश्यक भएको उल्लेख गर्दै जनताको आवाज संसदमा पुर्याउने उद्देश्यसहित चुनावी मैदानमा उत्रिएको बताए । “म विगतमा जिम्मेवारीमा रहँदा परिणाममुखी काम गरेर देखाइसकेको छु । अब त्यो अनुभव संसदमा प्रयोग गर्न चाहन्छु,उनले भने ।
उनले काठमाडौं–३ का मतदाताले परिवर्तन चाहेको उल्लेख गर्दै युवा, श्रमिक, व्यवसायी तथा आम नागरिकको व्यापक साथ आफूलाई प्राप्त भइरहेको दाबी गरे । शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र ऊर्जा क्षेत्रको दिगो विकासलाई आफ्नो प्राथमिक एजेन्डा बनाउने प्रतिबद्धता पनि उनले जनाए ।
कार्यक्रममा सहभागी समर्थकहरूले कुलमानको उम्मेदवारीले काठमाडौं–३ को चुनावी प्रतिस्पर्धा थप रोचक र प्रतिस्पर्धात्मक हुने बताएका छन् । यस क्षेत्रमा यसपटक कडा चुनावी भिडन्त हुने अनुमान गरिएको छ ।












