नेपाली चलचित्र ‘बिगुल’फागुन १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने
काठमाडौं।नेपाली चलचित्र ‘बिगुल’ को नयाँ प्रदर्शन मिति तय भएको छ।कथाकार तथा निर्माता दिनेश कोइरालाका अनुसार फिल्म यही फागुन १ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।
रमेश कोइरालाको निर्देशनमा बनेको यस चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, विनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रविन्द्र खड्कालगायत नवअभिनेत्री मीरा पण्डितको मुख्य भूमिका रहेको छ ।


देशको वर्तमान राजनीतिक अवस्था, आम नेपालीको जनभावना र समसामयिक परिस्थितिलाई प्रतिबिम्बित गर्ने विषयवस्तुमा आधारित ‘बिगुल’का सार्वजनिक भएका गीत,टिजर र ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदै आएका छन्।दर्शकको चासो र प्रतीक्षामा रहेको यस फिल्मले सशक्त सन्देश बोकेको अपेक्षा गरिएको छ ।
फिल्ममा शिव ढकालको छायांकन,एनबी महर्जनको द्वन्द्व निर्देशन र तारा थापा किम्भेको सम्पादन रहेको छ।संगीततर्फ विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको योगदान रहेको छ भने पटकथा तथा संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन्।












