हर्क साम्पाङको दाबीः“यो देशको एक दिन म नै प्रधानमन्त्री बन्छु”
काठमाडौं।धरान उप-महानगरपालिकाका प्रमुख हर्क साम्पाङले भविष्यमा आफू देशको प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। किरात येले संवत् ५०८६ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा मन्तव्य दिँदै उनले “प्रधानमन्त्री बन्छु, बन्छु, बन्छु” भन्दै आफ्नो आत्मविश्वास व्यक्त गरे।



कार्यक्रममा बोल्दै मेयर साम्पाङले आफूले कहिल्यै झुट नबोल्ने संस्कार बोकेको उल्लेख गरे। खरो र चोखो बोली आफ्ना पुर्खाबाटै पाएको बताउँदै उनले किरात पुर्खाहरू सधैँ अन्यायविरुद्ध आन्दोलनरत रहेको इतिहास स्मरण गरे। सत्य र न्यायका पक्षमा उभिनु नै आफ्नो पहिचान भएको उनको भनाइ थियो।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव तथा विशेष अतिथिका रूपमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको उपस्थिति रहेको थियो। बालेन शाह र हर्क साम्पाङ एउटै मञ्चमा देखिनु कार्यक्रमको विशेष आकर्षण बनेको थियो।


कार्यक्रमका क्रममा उपराष्ट्रपति यादवसहित अतिथिहरूलाई किरात समुदायको पहिचान झल्किने फेटा पहिराइएको थियो। काठमाडौं महानगर प्रमुख बालेन शाहले पनि फेटा लगाउँदै शुभकामना मन्तव्य दिएका थिए। उनले किरात चाड एकताको प्रतीक भएको उल्लेख गर्दै आफ्नो पहिचान, धर्म र संस्कृतिको संरक्षण गर्नु नै पहिचान जोगाउनु भएको बताए। विविधतामा एकता नै नेपालको शक्ति भएको उनको धारणा थियो।
यसै अवसरमा मेयर हर्क साम्पाङलाई “यलम्बर स्मृति पुरस्कार” बाट भव्य रूपमा सम्मान गरिएको छ। सम्मानसँगै उनलाई रु. २ लाख २५ हजार ५५५ नगद पुरस्कार समेत प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ। किरात समुदायको इतिहास, पहिचान तथा सामाजिक न्यायका लागि उनले पुर्याएको योगदानको उच्च कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको आयोजकको भनाइ छ।
किरात येले संवत् ५०८६ को अवसरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, किरात समुदायका अगुवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।














