नेपालमै पहिलोपटक डल्बी एटमस साउन्ड मिक्सिङ तालिम सुरु
काठमाडौँ।नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डल्बी एटमस (Dolby Atmos) साउन्ड मिक्सिङ तालिम सुरु भएको छ। म्युजिक नेपालको आयोजनामा, चलचित्र विकास बोर्डको सक्रिय सहयोग तथा अडियो भिजुअल सोसाइटी अफ नेपाल (AVSN) को सहआयोजनामा यो ऐतिहासिक तालिम सुरु गरिएको हो।
म्युजिक नेपालद्वारा स्थापना गरिएको डल्बी अडियो साउन्ड मिक्सिङ स्टुडियो ‘सगरमाथा’ मा नेपाली चलचित्र क्षेत्रमा क्रियाशील साउन्ड मिक्सिङ प्राविधिकहरूलाई लक्षित गर्दै घनिभूत तालिम सञ्चालन भइरहेको छ। तालिमका प्रशिक्षकका रूपमा भारतीय चलचित्र उद्योगका चर्चित तथा डल्बीबाट सर्टिफाइड साउन्ड इन्जिनियर भरत रेड्डी नेपाल आएका छन्।


भरत रेड्डीको नाम भारतीय चर्चित चलचित्रहरू थ्री इडियट्स, सैयारा, पुष्पा, सितारे जमीन पर, थामा, धुरन्धर तथा आउन लागेको ‘टक्सिक’ जस्ता ठूला प्रोजेक्टहरूसँग जोडिएको छ। उनी डल्बी सर्टिफाइड ट्रेनरसमेत हुन्।
तालिम सुरु हुनुअघि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र बोर्ड सदस्य वीरेन्द्रप्रसाद भट्ट ले प्रशिक्षक भरत रेड्डीलाई फूलको गुच्छा तथा Filming in Nepal पुस्तक प्रदान गर्दै नेपालमा स्वागत गरे। सो अवसरमा अध्यक्ष डिसीले सहभागी प्राविधिकहरूलाई सक्रिय रूपमा ज्ञान आर्जन गर्न शुभकामना दिँदै यो तालिमले नेपाली चलचित्रको प्राविधिक गुणस्तरलाई विश्वस्तरमा पुर्याउने विश्वास व्यक्त गरे।
डल्बीबाट सर्टिफाइड म्युजिक नेपालको यो स्टुडियो दक्षिण एसियाका सीमित १० वटा स्टुडियोमध्ये एक हो भने नेपालकै पहिलो डल्बी एटमस साउन्ड मिक्सिङ स्टुडियो हो।
घनिभूत तालिम सम्पन्न भएपछि उक्त स्टुडियोको औपचारिक उद्घाटन माघ २ गते पिङ्गलास्थान, गौशाला, काठमाडौँ मा नेपाली चलचित्रकर्मीहरूको उपस्थितिमा गरिने म्युजिक नेपालले जनाएको छ।
यो स्टुडियो सञ्चालनमा आएपछि नेपाली दर्शकले चलचित्र हेर्दा विदेशी चलचित्रसरह उच्चस्तरीय र अन्तर्राष्ट्रिय मापदण्डको साउन्ड अनुभव प्राप्त गर्ने अपेक्षा गरिएको छ।












