चलचित्रसम्बन्धी विधेयक पारितपछि चलचित्र विकास बोर्ड स्वायत्त बनाइने:मन्त्री खरेल – Sagarmathapana:: Online News Portal

चलचित्रसम्बन्धी विधेयक पारितपछि चलचित्र विकास बोर्ड स्वायत्त बनाइने:मन्त्री खरेल

   २०८२ पुष २९ गते  

काठमाडौं।सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्रसम्बन्धी विधेयक पारित भएपछि चलचित्र विकास बोर्डलाई स्वायत्त बनाइने बताउनुभएको छ।चलचित्र विकास बोर्डद्वारा शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाली चलचित्र क्षेत्रमा आगामी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै उहाँले विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।

मन्त्री खरेलले नेपाली चलचित्र क्षेत्रको विकासले देशको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै बोर्डलाई स्वायत्त बनाइ अनुभवी चलचित्रकर्मीलाई नेतृत्वमा ल्याउने व्यवस्था विधेयकमा गरिएको बताउनुभयो। साथै चलचित्र सेन्सरसम्बन्धी कार्यविधि पनि अगाडि बढाइएको उहाँको भनाइ थियो।

नेपाली चलचित्रकर्मीले उठाउँदै आएको कर छुटको मागबारे बोल्दै मन्त्री खरेलले आफ्नो कार्यकाल छोटो रहेको र सञ्चार मन्त्रालयको मात्र अधिकारक्षेत्रमा नपर्ने भएकाले तत्काल निर्णय सम्भव नभएको स्पष्ट पार्नुभयो।

कार्यक्रममा चलचित्र विकास बोर्डको चालु आर्थिक वर्षका कार्यक्रम सार्वजनिक गर्दै मन्त्री खरेलले साउण्ड मिक्सिङ, फोटो तथा भिडियो, मेकअप, ड्रोन सञ्चालनसम्बन्धी तालिम सञ्चालन गरिने जानकारी दिनुभयो। साथै एआई एनिमेसन, पौडी, घोडा चढ्ने, पटकथा लेखनलगायत विविध तालिममार्फत चलचित्रकर्मीलाई दक्ष बनाइने बताउनुभयो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले नेपाली चलचित्र क्षेत्रले आर्थिक समृद्धिमा योगदान पुर्‍याउनुका साथै नेपाली संस्कृति, कला र भाषालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गरिरहेको उल्लेख गर्दै राज्यले नीतिगत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चालु वर्ष सञ्चालन गरिने तालिममा अनुभवी चलचित्रकर्मीलाई प्राथमिकता दिइ उद्योगलाई उकास्ने लक्ष्य लिइएको जानकारी दिनुभयो।

कार्यक्रममा कलाकार कृष्ण मल्लले सिनेमा पर्यटनको विकासका लागि एकद्वार प्रणाली, स्पष्ट नीति र चलचित्र विकास बोर्डको स्वायत्तता आवश्यक रहेको धारणा राख्नुभयो। निर्माता आकाश अधिकारीले नेपाली चलचित्र उद्योगले करिब ३५ लाख जनालाई रोजगारी दिएको, राज्यलाई उल्लेखनीय राजस्व तिरेको र नेपाली संस्कृतिलाई विश्वसामु चिनाउन नयाँ चलचित्र ऐन अपरिहार्य रहेको बताउनुभयो।

सो अवसरमा अभिनेता सुनिल थापा र नाजिर हुसेनलाई चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै