इक्यान अध्यक्षका लागि पौडेल–भुसालबीच कडा प्रतिस्पर्धा,पौडेल भन्छन्– भाषण होइन, परिणाम दिन्छु
काठमाडौँ।शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी तीव्र बनेको छ। आगामी सोमबार २८ गते हुन गइरहेको निर्वाचनमा व्यवसायीहरू दुई स्पष्ट समूहमा विभाजित भएका छन्।
इक्यान अध्यक्ष पदका लागि वर्तमान प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रयु’ र वर्तमान महासचिव दिपकराज भुसालबीच कडा प्रतिस्पर्धा देखिएको छ। दुवै उम्मेदवार प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्।

अध्यक्ष पदमा आफ्नो उम्मेदवारीबारे उठेका टिप्पणीहरूप्रति प्रतिक्रिया दिँदै पौडेलले हैसियत प्रदर्शनका लागि नभई जिम्मेवार नेतृत्व बहन गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्। इक्यानको वर्तमान अवस्थालाई थप सुदृढ र भविष्यलाई गतिशील बनाउने लक्ष्यसहित आफू अघि बढेको उनको भनाइ छ।
‘इक्यान आज जहाँ आइपुगेको छ, त्यहाँसम्म पुग्न धेरै व्यवसायी साथीहरूको इमानदार मेहनत छ। म त्यो योगदानको सधैं सम्मान गर्छु,’ पौडेलले भने, ‘कुनै एक व्यक्ति वा नेतृत्वले मात्र होइन, समग्र इक्यानियनहरूको सामूहिक प्रयासबाट मात्र समृद्ध इक्यान सम्भव छ।’
पौडेलले पछिल्ला दिनमा अनुभव, निरन्तर उपस्थिति र विगतको योगदानका विषयमा भइरहेको बहसभन्दा पनि अब भविष्यमा के गर्न सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्ने धारणा राखे। अध्यक्षको उम्मेदवारभन्दा पनि इक्यान परिवारकै एक सदस्यको रूपमा आफू अगाडि बढेको उनले बताए।

गत निर्वाचनमा सर्वाधिक मतसहित प्रथम उपाध्यक्षमा निर्वाचित भएको स्मरण गर्दै पौडेलले त्यो केवल पद नभई ठूलो जिम्मेवारी भएको उल्लेख गरे। ‘आज इक्यानलाई ठूला कुरा होइन, सही कुरा चाहिएको छ। भाषण होइन, काम चाहिएको छ,’ उनले भने, ‘म कसैको विरोध गर्न आएको होइन, प्राप्त हुने जिम्मेवारीलाई परिणाममा बदल्न प्रतिबद्ध छु।’
पछिल्ला दुई वर्षमा इक्यानले आयोजना गरेका कार्यक्रम, बैठक, एजुकेशन फेयर, तालिम तथा शाखा गतिविधिमा सक्रिय सहभागिताले संस्था र व्यवसायिक क्षेत्रलाई नजिकबाट बुझ्ने अवसर पाएको पौडेलले बताए। केन्द्र र शाखाबीच समन्वय, सदस्यका आवाज नेतृत्वसम्म पुर्याउने र कार्यक्रमहरू प्रभावकारी रूपमा सम्पन्न गराउने काममा आफ्नो सक्रिय भूमिका रहेको उनको दाबी छ।
देशभरका शाखाहरूको अवस्था, चुनौती र सम्भावना बुझ्ने अवसर पाएको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन र फेयरहरूबाट बाह्य प्रणाली, अभ्यास र संरचना नजिकबाट अध्ययन गरेको बताए।
‘सदस्यका वास्तविक समस्या सुन्ने, फेयर र तालिम कागजमा होइन परिणाममा देखिने बनाउने, थोरै होइन धेरै सदस्यले अवसर पाउने संस्था निर्माण गर्ने र आदेश होइन सहजीकरण गर्ने नेतृत्व आजको आवश्यकता हो,पौडेलले भने।
पुरानो–नयाँको विभाजनभन्दा माथि उठेर इमानदार र व्यवहारिक परिवर्तन अनुभूति गराउने नेतृत्व रोज्ने समय आएको बताउँदै उनले एजुकेशन कन्सल्टेन्सी क्षेत्रको महत्व, भविष्य, चुनौती र समाधानका विषयमा निरन्तर बहस र पैरवी गर्न आफू तयार रहेको बताए।
इक्यानको समृद्धि र परिवर्तनका लागि शान्त ढंगले काम र परिणाम दिने प्रतिबद्धता व्यक्त गर्दै पौडेलले यसपटक पनि नेतृत्व चयनमा साथ, समर्थन र मत दिएर जिम्मेवारी सुम्पिन सम्पूर्ण इक्यानियनहरूलाई आग्रह गरेका छन्।












