ECAN का वर्तमान महासचिव दीपक राज भुसालको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा
काठमाडौं।शैक्षिक परामर्श संघ नेपाल (इक्यान–ECAN) का वर्तमान महासचिव दीपक राज भुसालले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
इक्यानको साधारणसभा तथा निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै भुसालले औपचारिक रूपमा अध्यक्ष पदमा दाबी प्रस्तुत गरेका हुन्। निर्वाचन प्रक्रिया सुरु भएसँगै संघको शीर्ष नेतृत्वका लागि उनको उम्मेदवारी अगाडि आएको छ।

इक्यानका अनुसार संघको साधारणसभा आगामी माघ २८ गते (जनवरी १२) बिहान ८:०० बजे काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सन मा आयोजना हुनेछ। सोही दिन नयाँ कार्यसमिति चयनका लागि निर्वाचन पनि सम्पन्न हुने जनाइएको छ।
हाल इक्यानको महासचिवको जिम्मेवारी सम्हालिरहेका भुसाल शैक्षिक परामर्श व्यवसायमा लामो समयदेखि सक्रिय एक अनुभवी उद्यमी हुन्। उनले विगतमा इक्यानमा विभिन्न जिम्मेवारी सम्हाल्दै संघलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिएका छन्।

भुसाल इन्लाइटेन इन्टरनेशनल एजुकेसन का अध्यक्षसमेत हुन्। उनी वैदेशिक शिक्षा परामर्श क्षेत्रलाई सुधार, पारदर्शिता र नीतिगत रूपमा सबल बनाउने अभियानमा सक्रिय रूपमा संलग्न रहँदै आएका छन्।
अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दै भुसालले शैक्षिक परामर्श क्षेत्रलाई अझ विश्वसनीय, मर्यादित र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने आफ्नो मुख्य लक्ष्य रहेको बताए। साथै उनले इक्यानलाई अझ संस्थागत, जवाफदेही र सदस्य–केन्द्रित संगठन का रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।












