२०२८ सालमा मारिएका ज्ञानेन्द्र ढकाललाई ‘पहिलो जेनजी शहीद’ घोषणा गर्न राप्रपा नेतृ खुश्बु ओलीको माग – Sagarmathapana:: Online News Portal

२०२८ सालमा मारिएका ज्ञानेन्द्र ढकाललाई ‘पहिलो जेनजी शहीद’ घोषणा गर्न राप्रपा नेतृ खुश्बु ओलीको माग

   २०८२ पुष १३ गते  

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य खुश्बु ओलीले २०२८ सालमा झापा क्रान्तिका क्रममा मारिएका २२ वर्षीय ज्ञानेन्द्र प्रसाद ढकाललाई ‘पहिलो जेनजी शहीद’ घोषणा गर्न माग गरेकी छन्।

शनिबार झापाको विर्तामोडमा राप्रपाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेतृ ओलीले राजनीतिक कारणले हत्या गरिएका पहिलो जेनजी युवा ज्ञानेन्द्र ढकाल भएको दाबी गरिन्।

उनका अनुसार बनारसबाट एमएससी अध्ययन पूरा गरी स्वदेश फर्किएका ढकाललाई घर फर्किएको दिनमै उनका पिता धर्मप्रसाद ढकालसहित नृशंस रूपमा हत्या गरिएको थियो। “त्यतिबेला नवयुवा पुस्तामाथि गरिएको यो घटना अहिलेको जेनजीमाथि भएको पहिलो राजनीतिक हत्या थियो,ओलीले भनिन्,त्यसैले ज्ञानेन्द्र प्रसाद ढकाललाई पहिलो जेनजी शहीद घोषणा गरिनुपर्छ।

तत्कालीन झापा क्रान्तिको क्रममा ‘वर्गशत्रु सफाया अभियान’ अन्तर्गत जमिनदारको हत्या गर्ने नाममा उक्त घटना भएको बताइन्छ। उक्त घटनाले त्यस समयको राजनीतिक आन्दोलन र त्यसका नाममा भएका हिंसात्मक गतिविधिबारे पुनः बहस सुरु गराएको छ।

नेतृ ओलीको उक्त मागले इतिहास, राजनीतिक आन्दोलन र शहीदको परिभाषासम्बन्धी बहसलाई नयाँ ढंगले अघि बढाउने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै