क्यान बिटुबी समिट २०२५ः क्लाउड र डेटा सेन्टरमा लगानी बढाउनुपर्नेमा जोड
ललितपुर।कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले डेटा सेन्टर र क्लाउड सेवालाई नेपालको डिजिटल अर्थतन्त्रको वास्तविक मेरुदण्डका रूपमा वर्णन गर्नुभएको छ।
शनिबार ललितपुरमा सम्पन्न ‘क्यान बिटुबी (B2B) समिट २०२५’ लाई सम्बोधन गर्दै उहाँले बलियो डिजिटल पूर्वाधार बिना नेपालको डिजिटल रूपान्तरण र डिजिटल सपना साकार हुन नसक्ने स्पष्ट पार्नुभयो।


प्रविधि अब केवल सुविधा नभई अर्थतन्त्रको प्राणवायु बनिसकेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष अधिकारीले सुरक्षित डेटा भण्डारण र भरपर्दो क्लाउड पूर्वाधारको अभावमा डिजिटल रूपान्तरणका प्रयासहरू दीगो हुन नसक्ने धारणा व्यक्त गर्नुभयो।
डिजिटल पूर्वाधारमा लगानी अपरिहार्य उहाँले स्टार्टअपदेखि ठूला उद्योगसम्म क्लाउड सेवा अनिवार्य भइसकेको बताउँदै भन्नुभयो,“क्लाउड पूर्वाधारले उद्यमीहरूलाई सर्भर, सुरक्षा र मर्मतसम्भारमा लाग्ने ठूलो पुँजीगत खर्चबाट मुक्त गर्छ। इ–कमर्स, फिनटेक र आइटी सेवा निर्यातमा नेपाली युवाको बढ्दो आकर्षणलाई मूर्त रूप दिन बलियो क्लाउड पूर्वाधार आवश्यक छ।
विश्वव्यापी तथ्याङ्क प्रस्तुत गर्दै उहाँले सन् २०३० सम्ममा डेटा सेन्टर बजार ६०२ अर्ब अमेरिकी डलरभन्दा बढी पुग्ने प्रक्षेपण गरिएको जानकारी दिनुभयो। इस्टोनिया, सिंगापुर र भारतजस्ता देशहरूले डिजिटल पूर्वाधारमा समयमै लगानी गरेकै कारण विश्वव्यापी प्रतिस्पर्धामा अगाडि रहेको उल्लेख गर्दै नेपालले पनि ढिला नगरी स्पष्ट रणनीति बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

तीन बुँदे सुधारको खाका
नेपालको डिजिटल आकाश साइबर सुरक्षाका दृष्टिले संवेदनशील रहेको र दक्ष जनशक्तिको अभाव रहेको स्वीकार गर्दै वरिष्ठ उपाध्यक्ष अधिकारीले तीन प्रमुख सुधारका बुँदाहरू अघि सार्नुभयोः
- नीतिगत सुधार – डेटा संरक्षण, साइबर सुरक्षा र डेटा लोकलाइजेसनका लागि स्पष्ट र लगानीमैत्री कानुन निर्माण
- दक्ष जनशक्ति विकास – विश्वविद्यालय र उद्योगबीच सहकार्य गर्दै बजारको माग अनुसारको जनशक्ति उत्पादन
- डिजिटल समावेशिता – काठमाडौँ बाहिर ग्रामीण भेगसम्म डिजिटल रूपान्तरण विस्तार गर्न दूरसञ्चार विकास कोषको प्रभावकारी उपयोग
नेपाललाई दक्षिण एसियाकै ‘टेक हब’ बनाउने सम्भावना
नेपालको रणनीतिक भौगोलिक अवस्थाको सदुपयोग गर्दै दक्षिण एसियाकै ‘टेक हब’का रूपमा विकास गर्न सकिने सम्भावना रहेको उहाँको भनाइ थियो। सार्वजनिक–निजी साझेदारी (PPP) मार्फत विदेशी लगानी आकर्षित गर्न अहिले नै उपयुक्त समय भएको पनि उहाँले उल्लेख गर्नुभयो।
समिटको समापनमा वरिष्ठ उपाध्यक्ष अधिकारीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रायोजक, प्रदर्शक तथा क्यान महासंघका केन्द्र, प्रदेश र जिल्ला तहका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।
“सबैको सहकार्यबाट मात्र नेपाली प्रविधि क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन सकिन्छ,” उहाँले भन्नुभयो।












