एमाले ११औँ महाधिवेशनः नेतृत्व चयनका लागि विद्युतीय मतदान तीव्र
काठमाडौँ-नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान प्रक्रिया जारी छ। अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो समूहगत प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
अध्यक्षका दुवै उम्मेदवारले विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरी प्रक्रिया औपचारिक रूपमा सुरु गरेका हुन्। उनीहरूसँगै महासचिव पदका उम्मेदवार शंकर पोखरेलले पनि मतदान गरेका छन्। शीर्ष नेताहरूको मतदान सफल भएपछि प्रतिनिधिहरूलाई मतदानका लागि प्रवेश दिइएको निर्वाचन आयोगले जनाएको छ।


निर्वाचन आयोगका अनुसार मतदान सुरु भएको साढे तीन घण्टामा ३८० मत खसिसकेको छ। मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ। एक मतदाताले मतदान गर्न औसत २० देखि ३५ मिनेट समय लागेको जनाइएको छ।
महाधिवेशनमा कुल २,२६३ प्रतिनिधिहरू सहभागी छन्। आयोगका अनुसार मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिनेछ र नतिजा आज रातिसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ।












