चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्लको आग्रह
काठमाडौं।नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालमा लगानी गर्न चिनियाँ उद्यमी तथा व्यवसायीहरूलाई आह्वान गर्नुभएको छ।
चाइनिज जनरल एसोसिएसन अफ इन्डष्ट्रि एन्ड कमर्स इन नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले नेपाल प्रविधि, नवप्रवर्तन र लगानीका दृष्टिले आकर्षक गन्तव्य बनेको बताउनुभयो। उहाँका अनुसार विदेशी लगानीकर्ताका लागि सुरक्षित वातावरण र सुनिश्चित प्रतिफल दिने नीतिगत व्यवस्था नेपालमा उपलब्ध छ।

प्राकृतिक स्रोतसाधन, रणनीतिक भौगोलिक अवस्थिति तथा ऊर्जाशील युवा जनशक्तिका कारण नेपाल लगानीका लागि उपयुक्त मुलुक भएको मल्लको भनाइ छ। “चिनियाँ लगानीबाट नेपालमा उत्पादन भएका वस्तुहरू भारत र चीन दुवै विशाल बजारमा सहज रूपमा पुग्न सक्छन्,” उहाँले भन्नुभयो।
उहाँले वर्तमान सरकार विदेशी लगानीको सुरक्षाप्रति स्पष्ट प्रतिबद्ध रहेकाले लगानीमैत्री वातावरण क्रमशः सुदृढ हुँदै गएको पनि उल्लेख गर्नुभयो। जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार तथा रियल इस्टेट क्षेत्रमा अपार सम्भावना रहेको बताउँदै मल्लले यी क्षेत्रमा चिनियाँ लगानी भित्रिएमा रोजगारी सिर्जना, उद्योग विस्तार र राष्ट्रिय विकासमा तीव्रता आउने विश्वास व्यक्त गर्नुभयो।
“नेपालमा लगानी गर्ने यो सही समय हो। अवसरहरू विस्तार हुँदै गएका छन् र नेपाल–चीन साझेदारी अझ मजबुत बन्दै गएको छ,” मल्लले भन्नुभयो। उहाँले नेपाल–चीन सहकार्यबाट दुवै मुलुकले साझा समृद्धि हासिल गर्न सकिने धारणा राख्नुभयो।
नेपाल र चीनबीच सातौँ शताब्दीदेखि ऐतिहासिक सम्बन्ध कायम रहँदै आएको उल्लेख गर्दै उहाँले नेपालकी राजकुमारी भृकुटीको तिब्बतका राजासँग भएको वैवाहिक सम्बन्धको प्रसङ्ग पनि स्मरण गर्नुभयो।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन जोङले पर्यटन, कृषि लगायतका क्षेत्रमा चिनियाँ लगानी विस्तार हुँदै गएको जानकारी गराउनुभयो।












