१६ वर्षमा मकालु चढेका पेमले खोले आफ्नो कम्पनी-AltiPro Adventure – Sagarmathapana:: Online News Portal

१६ वर्षमा मकालु चढेका पेमले खोले आफ्नो कम्पनी-AltiPro Adventure

   २०८२ कार्तिक ३० गते  

काठमाडौँ।सङ्खुवासभाका २३ वर्षीय युवा आरोही पेम ल्हाक्पा शेर्पाले छोटो समयमै नेपाली पर्वतारोहण क्षेत्रमा नयाँ पहिचान बनाएका छन्। १६ वर्ष दुई महिनाको उमेरमा मकालु चढेर चर्चामा आएका पेमले अहिले सम्म ८ हजार मिटरभन्दा माथिका छ वटा हिमाल सफलतापूर्वक आरोहण गरिसकेका छन्।

पेमले २०१९ को मे महिनामा मकालु आरोहण गर्दा उनी नेपालबाट उक्त पर्वत चढ्ने सबैभन्दा कान्छा आरोही बने।नेपालबाट मकालु हिमाल आरोहण गर्ने म नै सबैभन्दा कान्छो आरोही हुँ पेमले सम्झिन्छन्।


पेमको बाल्यकाल सामान्य थिएन।गाउँमा विद्यालय पाँच कक्षासम्म मात्र भएकाले उच्च पढाइको अवसर मिलेन् १५ वर्षकै उमेरमा उनले हिमाली क्षेत्रमा भरीया(पोर्टर)को रूपमा काम सुरु गरे पछि मनास्लु क्षेत्रमा ‘किचेन ब्वाई’ बनेर थप अनुभूति जुटाए।

यही क्रममा उनलाई १६ वर्ष २ महिनामा पहिलोपटक मकालु आरोहण गर्ने अवसर मिल्यो—र त्यहीबाट उनको पर्वतारोहण यात्राले नयाँ मोड लियो।

पेमले अहिलेसम्म यी उच्च हिमाल चढेका छन्—

मकालु- ३ पटक,सगरमाथा-२ पटक,मनास्लु -३ पटक,अन्नपूर्ण- १ पटक,माउन्ट केटु (K2)-१ पटक,गाशरब्रम-१(GI)-१पटक (बिना पूरक अक्सिजन)

२०२५ को वसन्तमा उनले अन्नपूर्ण–१ र मकालु दुबै सफलतापूर्वक आरोहण गरे। त्यसपछि पाकिस्तानको अभियानमा गएका पेमले गाशरब्रम–१ बिना अक्सिजन सफलतापूर्वक पूरा गरे तर खराब मौसमका कारण गाशरब्रम–२ को प्रयास क्याम्प–२ मै रोकिएको थियो।“गाशरब्रम–१ बिना अक्सिजन चढ्नु मेरो लागि नयाँ अनुभव थियो, तर हामी सफल भयौँ,” पेम भन्छन्।

पेम अहिले आफ्नो ट्रेकिङ र पर्वतारोहण कम्पनी AltiPro Adventure सार्वजनिक गर्ने तयारीमा छन्।

कम्पनीमा पाँच जना पार्टनर छन्—सबै अनुभवी गाइड र पेमसँग नजिकका सहयोगी।

“कम्पनी र वेबसाइट अन्तिम तयारीमा छ, एक हप्ताभित्र सार्वजनिक गर्छौं,” पेम बताउँछन्।

Alti शब्दले Altitude, Pro ले Personal र Adventure ले साहसिक यात्रालाई जनाउँछ।

अब पेमको अगाडि अर्को ठूलो लक्ष्य छ—विश्वका आठ हजार मिटरमाथिका सबै १४ शिखर चढ्ने।

उनी भन्छन्,“सानै उमेरदेखि संघर्ष गर्दै पनि विश्वका अग्ला शिखरहरू जित्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छु।”

प्रेरणादायी युवा आरोही

नेपालका नयाँ पुस्ताका साहसी युवामध्ये पेम ल्हाक्पा शेर्पा उदाहरण बनेका छन्। कठिनाइबाटै यात्रा सुरु गरेका उनी अहिले विश्वका कठिन शिखरहरूलाई चुनौती दिँदै अघि बढिरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै