सेन्सर बोर्डको पुरा टिम फेर्ने तयारी,मन्त्री खरेलको कडा निर्देशन – Sagarmathapana:: Online News Portal

सेन्सर बोर्डको पुरा टिम फेर्ने तयारी,मन्त्री खरेलको कडा निर्देशन

   २०८२ कार्तिक २१ गते  

काठमाडौं।नेपाली चलचित्रमा धूम्रपान र मद्यपानका चेतनामूलक सन्देश अंग्रेजीमा राखिएको कारण रोकिएका चलचित्रका निर्माता–निर्देशकले सेन्सर बोर्डप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। ‘कोशेढुंगा’ र ‘जेरी अन टप’ का टिमले चलचित्र रोक्न सेन्सरमा रहेका विज्ञ सदस्यहरूकै ठूलो भूमिका रहेको भन्दै आफूहरूले गल्तीको सिकार भएको बताएका हुन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग बिहीबारको अन्तरक्रियामा ‘कोशेढुंगा’का निर्देशक सरोज पौडेलले आफ्नो चलचित्र रोकिएको विषयमा गुनासो राखे। यसै क्रममा अन्य चलचित्रकर्मीहरूले पनि हालको सेन्सर बोर्डको कार्यशैली र निर्णयप्रति असन्तुष्टि जनाएपछि मन्त्री खरेलले तत्कालै सेन्सर बोर्डको सम्पूर्ण टिम फेर्ने निर्देशन दिएका छन्।

मन्त्री खरेलले मन्त्रालयका सचिव राधिका अर्याल र सम्बन्धित महाशाखाका प्रमुखहरूलाई “सेन्सर बोर्ड र चलचित्र विकास बोर्डमा योग्य र निष्पक्ष व्यक्ति ल्याउन” निर्देशन दिएका छन्। उनले भने,

“हामीले अहिले सहि व्यक्तिलाई सहि स्थानमा ल्याउनुपर्छ। निष्पक्षता र पारदर्शिता बिना चलचित्र उद्योग अघि बढ्दैन।”

यता, सेन्सर बोर्डका सदस्य कुवेर गिरी र भिमा मैनालीले भने आफूहरूले चलचित्रकर्मीलाई सकेसम्म सहज बनाउन प्रयासरत रहेको बताए।

चलचित्रकर्मीहरूबीचको अन्तरक्रियामा कलाकार जितु नेपाल, निर्देशक सरोज पौडेल, र प्रदीप भट्टराईले सेन्सर बोर्डको असमान व्यवहार र प्रदर्शन रोकावटप्रति असन्तुष्टि व्यक्त गर्दै स्पष्ट र निष्पक्ष नीति माग गरेका थिए।

चलचित्र विकास बोर्ड र सेन्सर बोर्डका सदस्यहरू मन्त्रीको सिफारिसमा नियुक्त हुन सक्ने भएकाले अब चाँडै नयाँ टिम गठन हुने संकेत देखिएको छ। विशेषगरी ‘जेनजी आन्दोलन’मा संलग्न चलचित्रकर्मीहरूले मन्त्रीलाई सुधारका लागि सुझाव दिएका छन् भन्ने समाचार छ।

सञ्चार सचिव राधिका अर्यालले पनि सेन्सर बोर्डमा अनेक समस्या आएको स्वीकार गर्दै छानबिनपछि मन्त्रीलाई प्रतिवेदन दिने बताएकी छन्।

यससँगै, अब निकट भविष्यमा सेन्सर बोर्ड र चलचित्र विकास बोर्डमा नयाँ नेतृत्व आउने पक्का जस्तै देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै