पूर्वमन्त्री सुदन किराँतीले माओवादी केन्द्र परित्याग गरे – Sagarmathapana:: Online News Portal

पूर्वमन्त्री सुदन किराँतीले माओवादी केन्द्र परित्याग गरे

   २०८२ कार्तिक २१ गते  

काठमाडौँ।माओवादी केन्द्रका प्रभावशाली नेता तथा पूर्वसंस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री सुदन किराँतीले अन्ततः पार्टी परित्याग गर्ने निर्णय गरेका छन्।

किराँतीले शुक्रबार सामाजिक सञ्जालमार्फत भावुक सन्देश लेख्दै माओवादी केन्द्रसँग आफ्नो राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेका हुन्।

उनले लेखेका छन्,

“फाटि रहनेलाई टालि रहेर बाँच्न चाहिन। त्यसैले आफैंलाई भत्काउने साहस गरेँ। मलाई प्रेम गर्ने मेरो पूर्वसाथीहरुलाई छोड्दा शरीरको अङ्ग काटिएजस्तो भएँ, तर मलाई माफ गर। किनकि मसँग अर्को जुनी छैन। यही जुनीमा सकेको आमाको ऋण तिर्नु छ। आफैंलाई परीक्षित गर्नु छ। मान्छे हो, माया त समयले बिर्साउँदै लैजाला, तर छायाँ भने मनमा रहिरहने छ। बाईबाई!”

उनको यो सन्देशले माओवादी केन्द्रभित्रको असन्तोष र वैचारिक विचलन फेरि सतहमा आएको संकेत गरेको राजनीतिक विश्लेषकहरूले बताएका छन्।

किराँती पछिल्ला महिनामा पार्टी नेतृत्वप्रति असन्तुष्ट देखिँदै आएका थिए। पार्टीको निर्णयप्रक्रियामा केन्द्रित नेतृत्वप्रति असहमति जनाउँदै आएका उनीले अन्ततः पार्टीबाट अलग हुने निर्णय गरेका हुन्।

पार्टीभित्र किराँतीसँग निकट रहेका केही युवानेता र स्थानीय कार्यकर्ताहरूले उनको निर्णयप्रति सहानुभूति प्रकट गरेका छन्।

अब किराँतीले नयाँ राजनीतिक बाटो लिन सक्छन् भन्ने अड्कल चल्न थालेको छ। उनी नयाँ राजनीतिक शक्तिसँग सहकार्य गर्ने वा स्वतन्त्र राजनीतिक यात्रा सुरू गर्ने भन्ने विषयमा चासो बढेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै