जेरी अन टप’ २०८२ सालको सबैभन्दा बढी कमाउने नेपाली फिल्म घोषित – Sagarmathapana:: Online News Portal

जेरी अन टप’ २०८२ सालको सबैभन्दा बढी कमाउने नेपाली फिल्म घोषित

   २०८२ कार्तिक २१ गते  

काठमाडौं-नेपाली चलचित्र ‘जेरी अन टप’ ले २०८२ सालको सबैभन्दा बढी कमाउने नेपाली फिल्मको रूपमा नयाँ कीर्तिमान स्थापित गरेको छ। घरेलु बक्स अफिसमा बुधबारसम्म ११ करोड ४३ लाख रुपैयाँ कमाउँदै,यो फिल्मले यसअघि शीर्ष स्थानमा रहेको ‘ऊनको स्वीटर’ (११ करोड ३४ लाख)लाई उछिनेको छ।

तिहारको अवसर पारेर ३१ असोज मा रिलिज भएको यो फिल्मले रिलिजको २०औं दिनमै वर्षकै सबैभन्दा ठूलो व्यावसायिक सफलता हात पारेको हो।हाल पनि देशभरका सयभन्दा बढी हलहरूमा यसको प्रदर्शन जारी छ।

फिल्मको इनिसियल बक्स अफिस अभिनेता अनमोल केसीको स्टारडमले बलियो बनाएको भए पनि,दर्शकको ‘वर्ड अफ माउथ’ले यसलाई लामो दौडको फिल्ममा परिणत गरेको बताइन्छ।

सुयोग गुरुङ निर्देशित यो चलचित्र सामाजिक,पारिवारिक र प्रेमिल कथाको मिश्रण हो,जसले देशको प्रतीक सगरमाथाको कथालाई केन्द्रमा राखेको छ।हिमाल आरोहण र पर्यटन प्रवर्द्धनको सन्देश बोकेको फिल्मले सामाजिक सञ्जालमा पनि ठूलो प्रशंसा कमाइरहेको छ।

फिल्ममा अनमोल केसी,आँचल शर्मा,जसिता गुरुङ,भुवन केसी,केदार घिमिरे र उषा खड्गी प्रमुख भूमिकामा छन्।

अनन्या फिल्म्सको ब्यानरमा निर्मित र सरोज न्यौपाने प्रस्तुत फिल्मले अन्तर्राष्ट्रिय बजारमा पनि उल्लेखनीय सफलता पाएको छ। निर्माता न्यौपानेका अनुसार,अष्ट्रेलिया,अमेरिका,जापान,युरोपसहितका देशहरूमा प्रदर्शन भइरहेको फिल्मले हालसम्म १७ करोड रुपैयाँभन्दा बढीको ग्लोबल कलेक्सन गरिसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै