गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ मिलाप सम्मान – Sagarmathapana:: Online News Portal

गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ मिलाप सम्मान

   २०८२ कार्तिक २१ गते  

काठमाडौं।लोकप्रिय गायिका अञ्जना गुरुङलाई मिलाप मासिक पत्रिकाले ‘स्वरमाधुरी मिलाप सम्मान-२०८२’ प्रदान गरेको छ।बुधबार राजधानीमा आयोजित एक विशेष समारोहमा उनलाई मिलाप मासिकको कात्तिक अंकको कभर सम्मानका रूपमा सम्मानित गरिएको हो।

कार्यक्रमका सभापति तथा मिलाप मासिकका सम्पादक कृष्ण भुसालका अनुसार मिलापले १६ वर्षदेखि निरन्तर पत्रिका प्रकाशन गर्दै आएको छ र यस अवधिमा १५० भन्दा बढी अंकहरूमा विशेष व्यक्तित्व र समसामयिक विषयवस्तुहरू समेटिएको छ।उनले यसपटकको अंकमा चर्चित गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ विशेष कभर स्टोरीका रूपमा प्रस्तुत गरिएको बताए।


समारोहमा महाकाव्यकार खेमनाथ दाहाल,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली,संगीतकार सन्तोष श्रेष्ठ,अग्रज गायक तथा संगीतकार कन्हैया सिंह,अग्रज पत्रकार सानु श्रेष्ठ,मिलाप फाउण्डेशन अध्यक्ष गीता अधिकारी, टीका गोपाल एम क्रियशनकी अध्यक्ष गीता सिंह,पत्रकार किशन अर्याल र अनुप सिंह लगायतको विशेष आतिथ्यता रहेको थियो।

स्वागत मन्तव्यमा गीता अधिकारीले मिलापले साहित्य,कला,संस्कृति, राजनीति र समाजका विभिन्न पक्षलाई समेट्दै पत्रिका र पुस्तक प्रकाशनमा निरन्तर सक्रिय रहेको बताइन्।

गायक तथा संगीतकार कन्हैया सिंहले अञ्जना गुरुङको गायन शैली र योगदानलाई उच्च प्रशंसा गर्दै मिलापले दिइएको यो सम्मान उचित र प्रेरणादायी रहेको टिप्पणी गरे।

अञ्जना गुरुङले चितवनमा जन्म,नेपालगञ्ज र काठमाडौं हुँदै हाल अमेरिकामा रहेर पनि निरन्तर गीत-संगीतमा सक्रिय रहेको बताइन्। उनले करिब एक हजारभन्दा बढी गीत रेकर्ड गरी श्रोता–दर्शकमाझ प्रस्तुत गरिसकेको जानकारी दिँदै आफ्नो सर्जनशील यात्रालाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाइन्।भावुक हुँदै उनले आफ्ना गीतहरूलाई मन पराउने सबैप्रति आभार व्यक्त गरिन्।

कार्यक्रममा उपस्थित अन्य अतिथिहरूले पनि अञ्जना गुरुङको योगदानको प्रशंसा गर्दै शुभकामना व्यक्त गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै