नीति शाहको आग्रहः महिला कलाकारका लागि भ्यानिटी भ्यानको व्यवस्था गर्न सरकारसँग माग – Sagarmathapana:: Online News Portal

नीति शाहको आग्रहः महिला कलाकारका लागि भ्यानिटी भ्यानको व्यवस्था गर्न सरकारसँग माग

   २०८२ कार्तिक २१ गते  

काठमाडौं।अभिनेत्री नीति शाहले चलचित्र क्षेत्रमा काम गर्ने महिला कलाकारहरूको सहजताका लागि भ्यानिटी भ्यानको आवश्यकता औंल्याउँदै सरकारसँग सहयोगको आग्रह गरेकी छन्।

विहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको चलचित्रकर्मीहरूसँगको छलफल कार्यक्रममा बोल्दै नीतिले छायांकनका क्रममा महिला कलाकारहरूलाई पर्न आउने असुविधा बारे उल्लेख गरिन्।

उनका अनुसार, हालै एक म्युजिक भिडियो छायांकनका क्रममा भारतबाट आएका एक महिला कलाकारलाई वासरुमको समस्या परेको थियो। “त्यो बेला हामीले ‘आजको लागि भ्यानिटी भ्यान छैन’ भनेर ढाँट्नुपर्‍यो,” उनले मन्त्रीलाई दुःखद अनुभव सुनाइन्।

नीतिले भनिन्, “महिला कलाकारहरूका लागि वासरुम र अन्य व्यक्तिगत आवश्यकतामा सजिलो होस् भनेर ३/४ वटा भ्यानिटी भ्यान ल्याउने वा बसमै वासरुम अट्याच गर्ने पहल गर्न सकिन्छ।” उनले यसो गर्न सके नेपाली फिल्म उद्योगलाई थप व्यवस्थित बनाउन मद्दत हुने बताइन्।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले पनि भ्यानिटी भ्यान खरिदका लागि बोर्डले पहल गर्ने बताएका थिए। उनले अभिनेता विपिन कार्की लगायतले पनि यसअघि भ्यानिटी भ्यान ल्याउने तयारी गरिरहेको जानकारी दिए।

त्यस्तै, मन्त्री जगदिश खरेलले भने भ्यानिटी भ्यान किन्ने काम प्रत्यक्ष रूपमा सरकारको नभए पनि भन्सार कर छुट लगायतका नीतिगत सहयोगका विषयमा मन्त्रालयले पहल गर्न सक्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै