नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आज पनि जारी
काठमाडौं।नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आज पनि काठमाडौंको मिराकल भेन्युमा जारी छ। बुधबारदेखि सुरु भएको बैठकमा पहिलो दिन पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।
राजनीतिक प्रतिवेदनमार्फत अध्यक्ष नेपालले वर्तमान सन्दर्भमा कम्युनिस्ट एकता आवश्यक भए पनि स्पष्ट वैचारिक र संगठनात्मक आधारबिना एकता सम्भव नहुने बताएका छन्।
बैठक कात्तिक १४ गतेसम्म चल्नेछ। बैठकले पार्टीको वैचारिक दृष्टिकोण र सैद्धान्तिक आधार स्पष्ट गर्ने, संगठन पुनर्गठनको कार्ययोजना तय गर्ने र नेतृत्व पुस्तान्तरणबारे निर्णय गर्ने तयारी गरेको छ।
त्यस्तै, जेनजी प्रदर्शनले उठाएका भ्रष्टाचार, आर्थिक अनियमितता र सामाजिक असमानताका मुद्दाबारे बैठकमा विशेष छलफल हुने बताइएको छ।












