तिहारपछि सुनको मूल्यमा लगातार गिरावट,चाँदीमा वृद्धि
काठमाडौँ।तिहारपछि नेपाली बजारमा सुनको मूल्य लगातार घट्दै गएको छ। बुधबार पनि सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य भने बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ७०० रुपैयाँले घटेर तोलाको २ लाख ३६ हजार ३०० रुपैयाँमा झरेको छ।
यसैगरी, तेजाबी सुनको मूल्य पनि घट्दै तोलामा २ लाख ३५ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
तर, चाँदीको मूल्य भने बढेको छ। मंगलबार तोलामा २ हजार ९२० रुपैयाँमा रहेको चाँदी बुधबार ४५ रुपैयाँले बढेर तोलाको २ हजार ९६५ रुपैयाँमा पुगेको छ।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतार–चढाव र अमेरिकी डलरको मजबुतीका कारण नेपाली बजारमा पनि त्यसको असर देखिएको हो।












