९८ करोड ठगी आरोपमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ
काठमाडौं- नेकपा (एमाले) का पूर्वसांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन ९८ करोड रुपैयाँ ठगी आरोपमा पक्राउ परेका छन्।
प्रहरी स्रोतका अनुसार भट्टचनलाई प्रहरी अपराध अनुसन्धान विभाग (CIB) ले बुधबार ललितपुरबाट पक्राउ गरेको हो। उनीमाथि प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनामा संलग्न भएको आरोप छ।
भट्टचनविरुद्ध प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामा ले ठगी सम्बन्धी उजुरी दिएकी थिइन्। लामाले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
यसअघि पनि भट्टचन विभिन्न सहकारी ठगी प्रकरण मा मुछिएका थिए। उनले आफ्नो राजनीतिक पहुँच प्रयोग गरी आर्थिक लाभ लिएको आरोप लाग्दै आएको छ।
भट्टचन नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका निकट सहयोगी मानिन्छन्। पार्टीभित्र उनी शक्तिशाली व्यक्तिको रूपमा चिनिँदै आएका थिए।
प्रहरीले हाल उनलाई थुनामा राखी थप अनुसन्धान अघि बढाएको जनाएको छ।












