रास्वपाद्वारा बृहत् राजनीतिक संवाद र मतदाता दर्ता अभियान सुरु गर्ने निर्णय – Sagarmathapana:: Online News Portal

रास्वपाद्वारा बृहत् राजनीतिक संवाद र मतदाता दर्ता अभियान सुरु गर्ने निर्णय

   २०८२ कार्तिक १२ गते  

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयको कार्तिक ९ र ११ गते बसेका बैठकले आगामी राजनीतिक सहकार्य, निर्वाचन तयारी र संगठन विस्तारका विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले बदलिँदो राजनीतिक परिदृश्यमा दीर्घकालीन रूपान्तरणका लागि “बृहत् राजनीतिक संवाद” आयोजना गर्ने निर्णय गरेको हो।

सचिवालयका अनुसार सो संवाद कार्यक्रम आगामी कार्तिक १४ गते हुनेछ।

रास्वपाले जेन–जी पुस्ताको सुशासनका पक्षमा भएको निर्णायक हस्तक्षेपपछि उत्पन्न नयाँ राजनीतिक वातावरणलाई दीर्घकालीन रुपान्तरणमा लैजान समान सोच भएका व्यक्ति तथा समूहहरूबीच खुला छलफल र रणनीतिक साझेदारीको सम्भावना खोज्ने तयारी गरेको छ।

कार्यक्रमको संयोजन पार्टीका उपसभापति तथा उच्चस्तरीय संवाद समिति संयोजक डा. स्वर्णिम वाग्लेले गर्नेछन्।

संवादका मुख्य उद्देश्यहरू

आन्दोलनको उत्पत्ति, उपलब्धि र भविष्यका सुधारबारे साझा बुझाइ बनाउने,

लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको एजेण्डामा बृहत् एकता तथा सहकार्यको रूपरेखा तय गर्ने,

आगामी प्रतिनिधिसभा निर्वाचनमा रणनीतिक साझेदारीको सम्भावनाबारे छलफल गर्ने।

त्यस्तै, निर्वाचन आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावली दर्ताको समय तोकेको सन्दर्भमा धेरै युवा दर्ताबाहिर रहेको भन्दै रास्वपाले देशव्यापी मतदाता नामावली दर्ता सहजीकरण अभियान सुरु गर्ने भएको छ।

यो अभियान कार्तिक ११ देखि २५ गतेसम्म सञ्चालन हुनेछ।

अभियानको संयोजन सचिवालय सदस्य गणेश पराजुलीले गर्नेछन्।

बैठकले वडादेखि पालिका अधिवेशन नियमित सञ्चालन गर्ने, जिल्ला र प्रवासमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा स्थानीय तहमा विविध अभियान चलाउने निर्देशन पनि दिएको छ।

यस्तै, आगामी प्रतिनिधिसभा निर्वाचन तयारीका क्रममा समानुपातिक तर्फ उम्मेदवारी आह्वानका लागि आवश्यक दस्तावेजबारे छलफल गरिएको छ। उम्मेदवारी आह्वान कार्तिक २२ भित्र गर्ने निर्णय गरिएको सचिवालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै