राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को आन्दोलन स्थगित
काठमाडौं।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले छठ पर्वपछि गर्ने भनिएको आन्दोलन तत्कालका लागि स्थगित गरेको छ।
अभियानका संयोजक दुर्गा प्रसाईँले बुधबार उपत्यकाका प्रमुख जिल्ला अधिकारी र प्रहरी कमाण्डरसँगको छलफलपछि आन्दोलन रोक्ने निर्णय गरेका हुन्। छलफलमा प्रसाईँले आफ्ना माग र मुद्दाहरू वार्ताको माध्यमबाट अघि बढाउने सहमति जनाएका छन्।
छठ पर्वपछि व्यापक विरोध कार्यक्रम गर्ने तयारीमा रहेको उक्त अभियानले हालका लागि वार्तालाई प्राथमिकता दिने जनाएको छ। प्रसाईँले भने, “हाम्रो उद्देश्य देश, धर्म, संस्कृति र नागरिकको हितका पक्षमा हो। त्यसका लागि हिंसात्मक बाटो होइन, संवाद नै समाधानको मार्ग हो,” भन्दै सबैलाई संयम रहन आग्रह गरेका छन्।
अभियानका तर्फबाट सरकारले चासो देखाएको भन्दै प्रसाईँले आगामी दिनमा माग सम्बोधन नभएमा आन्दोलनको अर्को चरणको कार्यक्रम सार्वजनिक गरिने बताएका छन्।












