“जेन–जी आक्रमणको हिसाब–किताब हुनेछ”:तरुण दल अध्यक्ष गुरुङ – Sagarmathapana:: Online News Portal

“जेन–जी आक्रमणको हिसाब–किताब हुनेछ”:तरुण दल अध्यक्ष गुरुङ

   २०८२ कार्तिक ११ गते  

काठमाडौं- नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका क्रममा नेतामाथि र सरकारी संरचनामा गरिएको आक्रमणको हिसाब–किताब हुने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।तरुण दलका स्थापना दिवसको अवसरमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले दोषीहरूमाथि छिटोभन्दा छिटो कारबाही गर्न सरकारलाई जोडदार अनुरोध गरे।

गुरुङले भने,“छिटोभन्दा छिटो जति पनि विभिन्न सरकारी संरचनाहरूमा, उद्योगपति, विभिन्न पार्टी कार्यालयहरु र हाम्रा नेताहरुको घरमा पेट्रोल बममार्फत जुन क्षति पुर्याइएको छ, यिनलाई छिटोभन्दा छिटो कारबाही होस्।होइन भने हाम्रा सबै नेताहरूमाथि, पार्टीमाथि कारबाही हुँदै जाँदा अब हामी चुप बस्दैनौं।”

उनले आन्दोलनका क्रममा सरकारमा नरहेका केही दल, राजावादी तत्व र “केही विदेशी दलालहरु”को घुसपैठ भएको दावी गर्दै सो घटनाहरुको सत्यतथ्य छानबिन र दोषीमाथि कडाइका साथ कारबाही हुनुपर्ने बताए।

गुरुङले थपे कि मुलुकको व्यवस्था र तरुण दलको अस्तित्व जोगाउन त्यस्ता तत्वहरूमाथि सडकमा उत्रिनुको विकल्प नरहेकाले संगठन सजग र तयार अवस्थामा रहनेछ।उनी भने, “यदि यो मुलुकको व्यवस्था जोगाउने हो भने, यदि तपाईँ हाम्रो अस्तित्व जोगाउने हो भने अब यिनीहरुको विरुद्धमा सडकमा भिड्ने नै हो। यो भन्दा अर्को विकल्प नै छैन।”

समकालीन राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई एकताको पक्षमा अग्रीम नेताहरुलाई आग्रह गर्दै गुरुङले पार्टीमा एक ढिक्का बनिरहन सबैलाई आह्वान पनि गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै