प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् पुनः विस्तार,दुई नयाँ मन्त्री थपिए
काठमाडौं।प्रधानमन्त्री सुशीला कार्कीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्री थपेकी छिन्।मन्त्रिपरिषद् विस्तारपछि मन्त्री सदस्य संख्या १० पुगेको छ।
प्रधानमन्त्री कार्कीले डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिएकी हुन्। दुबै नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरी कार्यभार सम्हालेका छन्।
नवनियुक्त स्वास्थ्य मन्त्री गौतमले ‘जेन जी आन्दोलन’ बाट प्रभावित युवाहरूलाई मनोसामाजिक परामर्श उपलब्ध गराउने पहिलो निर्णय गरेकी छन्।
यसअघि प्रधानमन्त्री कार्कीले गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारलाई मन्त्रीका रूपमा सिफारिस गरेकी थिइन्। तर अन्तिम क्षणमा दुवैको नाम सूचीबाट हटाइएको हो।
स्रोतका अनुसार सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सिफारिस गरिएको थियो, तर उहाँको विवादित पृष्ठभूमिका कारण नाम हटाइएको हो। त्यस्तै, भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा सिफारिस गरिएका गणपतिलाल श्रेष्ठले सो मन्त्रालय लिन अस्वीकार गरेपछि उनको नाम पनि फाइनल सूचीमा परेन।श्रेष्ठले पर्यटन मन्त्रालयको चाहना व्यक्त गरेका थिए।
तेस्रो पटक विस्तार गरिए पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन। निकट भविष्यमा थप मन्त्रीहरू नियुक्त हुने अपेक्षा गरिएको छ।












