विश्वकप लिग–२ : यूएईमा आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा
काठमाडौं।आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएई शृङ्खलाको पहिलो खेलमा आज नेपालले संयुक्त राज्य अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ। यो लिगको ८६औँ खेल हो। बलियो अमेरिकी टोलीसँग नेपालको पहिलो भिडन्त दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहान ११:१५ बजे (नेपाली समय) सुरु हुनेछ।
नेपालले आजको खेलबाट यूएई शृङ्खलाको सुरुवात गर्दैछ। केही दिनअघि मात्र तयारी पूरा गरी यूएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले अंकतालिकाको सातौँ स्थानमा रहेको छ।
अर्कोतर्फ, २० खेल खेलेको अमेरिका २८ अंकसहित दोस्रो स्थानमा छ, जसले आजको खेललाई नेपालका लागि चुनौतीपूर्ण बनाएको छ।
यूएई शृङ्खलामा नेपालले चार खेल खेल्ने तालिका छ। दोस्रो खेलमा नेपालले कात्तिक १३ गते (बिहीबार) युएईसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि कात्तिक १५ गते (शनिबार) पुनः अमेरिकासँग दोस्रो खेल खेल्नेछ।
शृङ्खलाको अन्तिम खेलमा नेपालले कात्तिक १९ गते (बुधबार) यूएईसँग प्रतिस्पर्धा गर्दै शृङ्खला समाप्त गर्नेछ।
नेपालले पछिल्ला केही खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ र यूएईमा पनि लय कायम राख्ने अपेक्षा गरिएको छ। क्रिकेटप्रेमीहरू आजको खेलमा नेपालले बलियो सुरुवात गर्ने आशामा छन्।












