परान’ चलचित्रले घोषणा गर्‍यो ‘मेरो परान’ प्रतियोगिता, एक जनालाई १ लाख रुपैयाँ पुरस्कार – Sagarmathapana:: Online News Portal

परान’ चलचित्रले घोषणा गर्‍यो ‘मेरो परान’ प्रतियोगिता, एक जनालाई १ लाख रुपैयाँ पुरस्कार

   २०८२ कार्तिक ९ गते  

काठमाडौं-आगामी कात्तिक १४ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘परान’ ले दर्शकमाझ विशेष प्रतियोगिता घोषणा गरेको छ। चलचित्रको प्रचार–प्रसारलाई थप रोचक बनाउन निर्माण पक्षले ‘मेरो परान’ शीर्षकमा प्रतियोगिता सञ्चालन गर्दै विजेतालाई १ लाख रुपैयाँ पुरस्कार दिने जनाएको छ।

निर्माण पक्षका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुकले आफ्नो जीवनमा सबैभन्दा प्रिय व्यक्ति — अर्थात् ‘परान’ — को तस्वीर फेसबुकमा पोस्ट गर्दै क्याप्सनमा ‘मेरो परान’ लेख्नुपर्नेछ। त्यस पोस्टमा आफ्नो भावनात्मक कथा लेख्दै चलचित्रको अफिसियल फेसबुक पेजलाई ट्याग गर्नुपर्ने बताइएको छ।

प्रतियोगितामा बुबा–आमा, श्रीमान–श्रीमती, प्रेमी–प्रेमिका, साथी वा परिवारका सदस्यहरूसँगको फोटो पोस्ट गर्न सकिनेछ। सहभागीहरूमध्ये लक्की ड्र मार्फत एक जनाले १ लाख रुपैयाँ जित्ने मौका पाउनेछन् भने १०० जनाले फिल्मको विशेष शोको टिकट प्राप्त गर्नेछन्।

त्यससँगै ‘परान’ टिमले प्रचारका लागि नयाँ विधि अवलम्बन गरेको छ। केही स्वयंसवकहरू फिल्मको क्यूआर कोडसहित शहरका विभिन्न भागमा घुम्ने र सो कोड स्क्यान गरी ट्रेलर वा गीत सेयर गर्ने दर्शकहरूमध्येबाट ५० जनालाई कलाकारसँगै फिल्म हेर्ने अवसर दिइने घोषणा गरिएको छ। यी दुबै प्रतियोगितामा सहभागिता कार्तिक २० गतेसम्म जनाउन सकिनेछ।

‘परान’ फिल्मको निर्माणमा गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा र प्रिज्मा एड्भर्टाइजिङ एजेन्सीका प्रमुख रन्जित आचार्य को लगानी रहेको छ। फिल्मले बुबा र छोराको भावनात्मक कथा प्रस्तुत गरेको छ।

फिल्ममा वरिष्ठ अभिनेता निर शाह, मदनकृष्ण श्रेष्ठ, महेश त्रिपाठी, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, सीमा काफ्ले लगायतका कलाकारको अभिनय रहेको छ।

निर्देशन ‘सक्किगोनी’ फेम दीपकप्रसाद आचार्य (काकु) ले गरेका हुन्।

फिल्मको ट्रेलरले सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छ र दर्शकहरूले यसलाई वर्षको प्रतिक्षित नेपाली फिल्मका रूपमा हेरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै