ज्येष्ठ नागरिक पार्कका लागि १२ लाख ३० हजार रुपैयाँ सहयोग हस्तान्तरण – Sagarmathapana:: Online News Portal

ज्येष्ठ नागरिक पार्कका लागि १२ लाख ३० हजार रुपैयाँ सहयोग हस्तान्तरण

   २०८२ कार्तिक ८ गते  

निमा पोङ्स्युवा

धरान,कात्तिक८।धरान उपमहानगरपालिका–२० स्थित श्रम संस्कृति पार्क परिसरमा निर्माणाधीन ज्येष्ठ नागरिक पार्कका लागि विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूले १२ लाख ३० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन्।

युकेबाट नेपाल डाक्टर एसोसिएसनको तर्फबाट रु. ६ लाख २० हजार रुपैयाँ मेयर हर्क साम्पाङ तथा निर्माण समितिकी संयोजक चन्द्रकला लिम्बूलाई हस्तान्तरण गरिएको हो। उक्त चेक विलियम हार्बी अस्पताल, नेपाल डाक्टर एसोसिएसन युकेका उपाध्यक्ष डा. आशिष राई र संयोजक मालती लिम्बू सहितको टोलीले धरानमै आएर हस्तान्तरण गरेका हुन्।



डा. राईले कार्यक्रममा बोल्दै, “मेयर साम्पाङ युके भ्रमणका क्रममा हाम्रो अस्पतालमा आउनु भएको थियो। त्यही भेटपछि नेपालमा केही योगदान गर्ने सोच बनायौं,” भन्दै उक्त सहयोग सोही छलफलको परिणाम भएको स्मरण गरे।

त्यस्तै, धरान–१६ का बलबहादुर रानामगर, जो युकेमा बस्दै आएका छन्, आफ्नो ८५औँ जन्मदिनको अवसरमा रु. ३ लाख ५० हजार ज्येष्ठ नागरिक पार्कका लागि हस्तान्तरण गरे। उनी स्वयं कार्यक्रममै उपस्थित थिए।



क्यानडाबाट प्रेमकुमार रानामगरले पनि रु. १ लाख ३० हजार पठाएका छन्। सो रकम मायावी मगरमार्फत प्राप्त भएको थियो, जसबाट १० हजार रुपैयाँ श्रमदाताहरूको खाजाका लागि छुट्याइएको र बाँकी रकम समितिलाई हस्तान्तरण गरिएको थियो।

त्यस्तै, धनप्रसाद लिम्बू परिवारले आफ्ना स्वर्गीय बुवाको स्मृतिमा रु. १ लाख ३० हजार सहयोग गरेका छन्।

कार्यक्रममा उपस्थित मेयर हर्क साम्पाङले देश–विदेशबाट आएको सहयोगले धरानको सामाजिक संरचनालाई बलियो बनाउने विश्वास व्यक्त गरे।

चेक तथा नगद रकम प्राप्त भएपछि निर्माण समितिका संयोजक चन्द्रकला लिम्बूले सबै सहयोगीहरूलाई धन्यवाद दिँदै रसिदसमेत वितरण गरिएको जानकारी दिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै