गायिका नितु पौडेलको अन्त्येष्टि सम्पन्न, संगीत क्षेत्रमा शोक
काठमाडौँ-लोकप्रिय गायिका नितु पौडेलको पार्थिव शरीरलाई आज शनिबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
गत शनिबार अनामनगरस्थित एक स्टुडियोमा आत्मदाह प्रयास गरेकी नितुको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको थियो।

उनको अन्त्येष्टिमा सांगीतिक क्षेत्रका कलाकार, आफन्त र शुभेच्छुकहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए। नितु पौडेल नेपाली आधुनिक संगीतकी उदाउँदो प्रतिभा मानिन्थिन्।
गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा नितुले आफैंमाथि आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन्। त्यहाँबाट तत्काल उद्धार गरी उनलाई अस्पताल पुर्याइए पनि उपचारकै क्रममा उनको ज्यान गएको हो।
नितुको निधनपछि उनको परिवारले संगीतकार बाबुल गिरीमाथि आत्महत्या दुरुत्साहनको आरोप लगाउँदै जाहेरी दर्ता गराएको छ। प्रहरीका अनुसार बाबुल गिरीलाई पक्राउ गरी सो सम्बन्धमा अनुसन्धान जारी छ।
यस घटनाले सांगीतिक क्षेत्रमा ठूलो शोक र आक्रोश पैदा गरेको छ। सामाजिक सञ्जालमा नितुप्रति श्रद्धाञ्जली र न्यायको माग भइरहेको छ।












