लेटाङमा हराएकी १३ वर्षीया अंशु गौतम मृत अवस्थामा फेला,बलात्कारपछि हत्या गरिएको आशंका – Sagarmathapana:: Online News Portal

लेटाङमा हराएकी १३ वर्षीया अंशु गौतम मृत अवस्थामा फेला,बलात्कारपछि हत्या गरिएको आशंका

   २०८२ कार्तिक ८ गते  

मोरङ-दशैंको उल्लासमय वातावरणबीच दुई साताअघि हराएकी मोरङको लेटाङ नगरपालिका–२ की १३ वर्षीया अंशु गौतम शुक्रबार बिहान स्थानीय जंगलभित्र मृत अवस्थामा फेला परेकी छन्।

स्थानीय बासिन्दा घाँस काट्न जंगल गएका बेला शव देखेपछि प्रहरीले घटनास्थल पुगेर उद्धार गरेको हो। प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले यो घटनामा बलात्कारपछि हत्या गरिएको आशंका जनाएको छ।

अंशु दुई साताअघि घर नजिकैबाट अचानक बेपत्ता भएकी थिइन्। परिवारले खोजतलास गरे पनि उनको अत्तोपत्तो नलागेपछि प्रहरीले व्यापक खोजी अभियान सुरु गरेको थियो।

घटनास्थलमा प्रहरी टोलीले अनुसन्धानका लागि प्रमाण संकलन गरिरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शवलाई पोस्टमार्टमका लागि पठाइएको छ र दोषी पत्ता लगाउन विशेष टोली खटाइएको छ।

स्थानीयवासीले घटनाप्रति आक्रोश व्यक्त गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन्। उनीहरूले प्रहरी प्रशासनले यस घटनालाई गम्भीर रूपमा लिएर शीघ्र न्याय दिलाउन आग्रह गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै