नेपालको पहिलो जित काभा कपमा,माल्दिभ्सलाई सोझो सेटमा पराजित
काठमाडौं-बंगलादेशको ढाकास्थित इन्डोर हलमा जारी काभा कप पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो जित हात पारेको छ। शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेको हो।
नेपालले माल्दिभ्सविरुद्धको खेलमा २५–२१, २५–२३ र २५–१८ को सेट जित्दै पहिलो जित दर्ता गरेको हो। यसअघि नेपाल तुर्कमेनिस्तानसँग पहिलो खेलमा ३–० ले र दोस्रो खेलमा आयोजक बंगलादेशसँग ३–२ ले पराजित भएको थियो।
यस जितसँगै नेपालले तीन खेलबाट ४ अंक जोडेको छ र अब नेपालले पर्सि अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
अर्को खेलमा तुर्कमेनिस्तानले अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै लगातार तेस्रो जित हात पारेको छ। तुर्कमेनिस्तान हाल समूहको शीर्ष स्थानमा रहेको छ।












