माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता प्रयास तीव्र,कात्तिक १२ मा निर्णायक बैठक – Sagarmathapana:: Online News Portal

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता प्रयास तीव्र,कात्तिक १२ मा निर्णायक बैठक

   २०८२ कार्तिक ८ गते  

काठमाडौं- नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकताको प्रयास तीव्र बनेको छ। आगामी निर्वाचनअघि नै एउटै कम्युनिस्ट पार्टी बनाउने लक्ष्यसहित दुबै दलका शीर्ष नेताबीच पछिल्ला दिनमा निरन्तर छलफल भइरहेको छ।

दुबै दलका नेताहरूका अनुसार हालको छलफल सैद्धान्तिक र संगठनात्मक विषयमा केन्द्रित छ। माओवादी केन्द्रभित्र एकताको विपक्षमा ठूला मतभेद नदेखिए पनि एकीकृत समाजवादीभित्र केही नेताहरूले तत्काल माओवादीसँग एकीकरण गर्न नहुने धारणा राखेका छन्।

एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरूले एकताको अघि माओवादीले व्यवहारिक रूपमा माओवादको परित्याग देखाउनुपर्ने बताएका छन्। “सैद्धान्तिक स्पष्टता बिना एकता टेकिने छैन,” खनाल पक्षका एक नेताले बताए।

यसबीच, पार्टी नाम, विधान, र चुनाव चिन्हजस्ता विषय मिलाउने कार्यमा पनि दुबै दलका नेताहरूबीच प्रारम्भिक छलफल जारी छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग पनि एकताको प्रयास गरिरहेकाले तीन पक्षबीच सैद्धान्तिक एकरूपता ल्याउन समय लाग्ने बताइएको छ।

माओवादी नेताहरूले समाजवादीभित्रको आन्तरिक विवाद समाधान भएपछि मात्र एकता औपचारिक रूपमा घोषणा गर्न सकिने बताएका छन्।

यसैबीच, नेकपा (एकीकृत समाजवादी) ले कात्तिक १२ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ। बैठकमा माओवादी केन्द्रसँगको सम्भावित एकता सम्बन्धी पार्टीको आधिकारिक धारणा तय गरिनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै