दुर्गा प्रसाईंको चेतावनी : पाँच लाख मानिस सडकमा, पूर्व–पश्चिम राजमार्ग बन्द गर्ने घोषणा
काठमाडौं।व्यवसायी तथा राजनीतिक अभियन्ता दुर्गा प्रसाईंले देशव्यापी आन्दोलनको तयारी गरेको घोषणा गरेका छन्। उनले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सबै राजमार्ग बन्द गर्ने चेतावनी दिँदै पाँच लाख मानिस सडकमा उतार्ने दाबी गरेका हुन्।
प्रसाईंले शुक्रबार आयोजित एक कार्यक्रममा भने,
“५ लाख मान्छे सडकमा आउँछन्। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सबै हाइवे बन्द हुन्छन्। आजसम्म आन्दोलन कस्तो हुन्छ भन्ने नदेखेकालाई अब दुर्गाले देखाउँछन् -असली आन्दोलन कस्तो हुन्छ भनेर।”
उनले आगामी आन्दोलन “व्यवस्था परिवर्तन” केन्द्रित हुने उल्लेख गर्दै देशमा विद्यमान राजनीतिक संरचना र शासन व्यवस्थामा पूर्ण परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्।
प्रसाईंको भनाइमा, “अब व्यवस्था परिवर्तन गरेरै छाड्ने हो।एउटा होइन, दुईटा होइन, तीन पटक भए पनि गर्छौँ।”
यस घोषणापछि सामाजिक सञ्जालमा प्रसाईं समर्थक र आलोचकबीच तीव्र बहस सुरु भएको छ।धेरैले उनको आन्दोलनलाई समर्थन जनाएका छन् भने कतिपयले यसलाई अराजकता फैलाउने प्रयासको रूपमा व्याख्या गरेका छन्।
सुरक्षा निकायहरू भने संभावित आन्दोलनका तयारीमा उच्च सतर्क अवस्थामा रहेका छन्।पूर्व–पश्चिम राजमार्ग बन्दजस्ता कदमले यातायात, आपूर्ति र दैनिक जनजीवनमा असर पार्न सक्ने भन्दै सरकारी संयन्त्र सचेत देखिएको छ।
प्रसाईंले भनेका छन्, यो आन्दोलन “शान्तिपूर्ण तर निर्णायक” हुनेछ र जनताले आफ्ना अधिकारका लागि सडकमा उत्रिनेछन्।












