डा. सन्दुक रुइतविरुद्धका आरोपप्रति शिक्षामन्त्री डा. महावीर पुनको कडा प्रतिक्रिया
काठमाडौं-शिक्षामन्त्री डा. महावीर पुनले समाजसेवी र विश्वप्रसिद्ध आँखाका चिकित्सक डा. सन्दुक रुइतमाथि दुर्गा प्रसाईले लगाएका आरोपप्रति कडा आपत्ति जनाएका छन्। उनले बिना प्रमाण स्वच्छ छविका व्यक्तिहरूमाथि मनगढन्ते आरोप लगाउने प्रवृत्तिले अन्ततः दुर्गा प्रसाईकै क्षति हुने चेतावनी दिएका छन्।
डा. पुनले आफ्नो फेसबुक पोस्टमार्फत भनेका छन्,
“दुर्गा भाइ, यसरी नै मच्चिँदै सयौँ मनगढन्ते दोषहरू विना ठोस प्रमाण स्वच्छ व्यक्तिहरूलाई लगायौ भने समयान्तरमा घाटा अरुलाई होइन, तिमीलाई नै हुनेछ। डा. सन्दुक रुइत जस्तो विश्वप्रसिद्ध आँखाका डाक्टर र समाजसेवी व्यक्तिलाई दुर्गा भाइले चिनेकै रहेनछ भने अरु कुरा के जानेर बोल्यो होला।”
उनले थप भनेका छन् कि डा. सन्दुक रुइत जस्तो व्यक्तित्वलाई नचिने जस्तो गरेर बदनाम गर्न खोज्ने व्यक्तिहरूको वास्तविक चरित्र अब सबैले बुझ्नुपर्ने बेला आएको छ।
हालै व्यवसायी दुर्गा प्रसाईले डा. रुइत र बारबरा फाउन्डेशनमाथि विभिन्न आरोपहरू लगाउँदै आएका छन्। यस्ता अभिव्यक्तिहरूले सामाजिक सञ्जालमा तीव्र विवाद र आलोचना निम्त्याएको छ।
डा. पुनको भनाइपछि धेरै सामाजिक अभियन्ता, चिकित्सक र नागरिकहरूले पनि डा. सन्दुक रुइतको पक्षमा समर्थन जनाउँदै दुर्गा प्रसाईको वक्तव्यप्रति असन्तुष्टि प्रकट गरेका छन्।












