सोलुखुम्बुमा बोलेरो जीप दुर्घटना, तीन महिलाको घटनास्थलमै मृत्यु, ६ जना घाइते
सोलुखुम्बु-सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–६, भिरकुनामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुने सबै महिला रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
बा ०१–०३१ च ५९२५ नम्बरको बोलेरो जीप बिहीबार साँझ करिब ६:३० बजे दुर्घटनाग्रस्त भएको हो। माप्य दुधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको उक्त जीप करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेका ६ जना घाइते भएका छन्। उनीहरुलाई उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले बताएको छ।
घटनास्थलमा प्रहरी टोली पुगेर उद्धार कार्य सम्पन्न गरेको र मृतकहरुको पहिचान खुल्न बाँकी रहेको नायव उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए।
दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।












