महेश बस्नेतको आरोप-“जेन–जी आन्दोलनमा माओवादीको घुसपैठ,१२ सय हतियार लुटियो” – Sagarmathapana:: Online News Portal

महेश बस्नेतको आरोप-“जेन–जी आन्दोलनमा माओवादीको घुसपैठ,१२ सय हतियार लुटियो”

   २०८२ कार्तिक ५ गते  

काठमाडौं।नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले जेन–जी आन्दोलनको क्रममा नेकपा (माओवादी केन्द्र)ले योजनाबद्ध रूपमा १२ सय हतियार लुटेको गम्भीर आरोप लगाएका छन्।

एमाले भक्तपुरले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले भने,

“हतियार कसले लुट्यो ? ती १२ सय हतियार अहिले कोसँग छन् ? हामी (एमाले)लाई हतियारको मोह छैन, चलाउन पनि जान्दैनौं, तर माओवादीले युद्धको कला सिकेका कारण ती हतियार उनीहरूले योजनाबद्ध रूपमा कब्जा गरेका हुन्।”

बस्नेतका अनुसार, जेन–जी आन्दोलनको समयमा माओवादी कार्यकर्ता र पूर्व लडाकुहरूको सक्रिय घुसपैठ भएको प्रमाणित गर्ने थुप्रै तथ्यहरू छन्। उनले महाराजगञ्जमा प्रहरीको हत्या गर्ने व्यक्ति पूर्व माओवादी लडाकु भएको, वाईसीएल अध्यक्ष पुष्प ओलीले आन्दोलनमा १० हजार वाईसीएल सहभागी भएको बताएका कुरा, र प्रचण्डले आन्दोलन भड्काउने अभिव्यक्ति दिएको उदाहरण प्रस्तुत गरे।

बस्नेतले भने,

“६२ वर्षका पूर्व माओवादी लडाकु महाराजगञ्जमा प्रहरी मार्ने क्रममा पक्राउ परे। उनले प्रहरीले आँखा फोरेको प्रतिशोधमा मारेको बताएका छन्। वाईसीएलको केटोले सार्वजनिक रूपमा १० हजार वाईसीएल परिचालन गरिएको भनिसक्यो। प्रचण्डले पनि रवि लामिछानेसँग जेलमा भेटेर आन्दोलनलाई उक्साउने अभिव्यक्ति दिएका थिए।”

उनका अनुसार, आन्दोलन अघि नै प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दलका नेताहरूसँग भेटेर सत्ता हस्तान्तरणको तयारीको संकेत दिएका थिए।

“२४ गते बिहान पार्टी कार्यालयमा प्रचण्डले भनेका थिए – ‘केपी ओलीले राजीनामा दिँदैछन्, म प्रधानमन्त्री बन्दै छु। तपाईंहरूको सुझाव के हो?’,” बस्नेतले दाबी गरे।

बस्नेतले जेन–जी आन्दोलनका नाममा देश अस्थिर बनाउन खोजिएको भन्दै माओवादी नेतृत्वप्रति सरकार र सुरक्षा निकायले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै