राम गिरी नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा मनोनित
काठमाडौं।तीन दशकभन्दा लामो समयदेखि तेक्वान्दो खेलमा संलग्न युवा उद्यमी तथा समाजसेवी राम गिरी नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा मनोनित भएका छन्।
सन् १९९२ (वि.सं. २०४९) सालमा छाउनीस्थित बालग्राम तेक्वान्दो डोजाङबाट खेल यात्रा सुरु गरेका गिरीले आफ्नो खेलकुद करिअरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा दर्जनौँ पदक जितेका छन्। यसअघि उनी संघको केन्द्रीय सदस्य तथा तेक्वान्दो राष्ट्रिय टिमका संयोजकका रूपमा कार्यरत थिए।
उपाध्यक्ष गिरीले लामो समयदेखि आफ्नै डोजाङ सञ्चालन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धी खेलाडीहरूलाई प्रशिक्षण दिँदै आएका छन्। उनका प्रशिक्षणमा रहेका खेलाडीहरूमध्ये ५०० भन्दा बढीले ब्ल्याक बेल्ट उपाधि प्राप्त गरिसकेका छन्। साथै, उनले प्रशिक्षण दिएका खेलाडीहरू मध्ये दोस्रोदेखि पाँचौं डानसम्मका दर्जनौँ उत्कृष्ट खेलाडीहरू रहेका छन्।
‘मैले प्रशिक्षण दिएका खेलाडीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सफल भएका छन्,’ उपाध्यक्ष गिरीले बताए। ‘अब संघको नेतृत्व तहमा रहँदा खेलकुदलाई समाजिकरण गर्दै देशको विकासमा योगदान पुर्याउने मेरो उद्देश्य हो।’
तेक्वान्दो खेलसँगै गिरी व्यवसायिक र समाजसेवी क्षेत्रमा पनि सफल व्यक्तिका रूपमा परिचित छन्। उनले खेलकुद क्षेत्र, संघ तथा खेलाडीहरूलाई निरन्तर सहयोग पुर्याउँदै आएका छन्।
संघको हालै चितवनको सौराहामा सम्पन्न पाँचौँ अधिवेशनबाट निर्वाचित केन्द्रीय अध्यक्ष दीपराज गुरुङले गिरीलाई उपाध्यक्षमा नियुक्त गरेका हुन्।
तेक्वान्दो आफ्नो जीवनको अभिन्न हिस्सा भएको बताउँदै गिरीले भने,
‘अध्यक्ष गुरुङको भिजन र निर्देशनअनुसार मैले हासिल गरेको अनुभवका आधारमा संघका गतिविधिलाई अझ सशक्त बनाउँदै लैजानेछु। नेपालमा तेक्वान्दोको स्तरलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ उच्च स्थानमा पुर्याउन निरन्तर प्रयत्न गर्नेछु।’












